बलिउड/हलिउड

राजनीतिमा डेब्यू गर्ने मुडमा कंगना

By खबरहब

December 21, 2023

काठमाडौँ– बलिउडमा रहेका विकृतिविरुद्ध स्थापित निर्देशक, अभिनेता, अभिनेत्रीसँग पंगा लिएर विभिन्न मुद्दामा चर्चामा आइरहने भारतीय नायिका कंगना रौनत राजनीतिमा आउने भएकी छिन् । 

फिल्म अभिनयसँगै त्यस क्षेत्रमा देखिएका समस्याका बारेमा आवाज उठाउँदै आएकी उनले अब राजनीतिमा पनि हात हाल्न लागेकी हुन् । 

पछिल्लो समय कंगनाको फिल्मले राम्रो व्यापार गर्न सकेको छैन । फिल्म क्षेत्रका स्थापित हस्तीसँगको विवादले उनी चर्चामा छिन् । यिनै घटनाले उनले निडर अभिनेत्रीको छवि बनाएकी छन् । विशेषतः उनले बलिउडमा देखिएको ‘नेपोटिजम’को विरुद्धमा आवाज उठाउँदै आएकी छिन् ।

कंगनाले आफ्नो तार्किक क्षमता राजनीतिमा सदुपयोग गर्नेमा उनका समर्थक आशावादी छन् । भारतीय मिडियाको दाबीअनुसार उनले सन् २०२४ को लोकसभा चुनावका लागि भारतीय जनता पार्टीबाट टिकट पाउने छिन् । 

कंगना स्वयंले भने यसबारे मुख खोलेकी छैनन् । केही दिनअघि उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, भगवानको कृपा भयो भने अवश्य चुनाव लड्छु ।

पछिल्लो समय उनी राजनीतिमा आउने चर्चा चलिरहेको थियो । उनका बुबा अमरदीप रनौतले उनी राजनीतिमा आउने पुष्टि गरेको समाचार भारतीय मिडियाले उल्लेख गरेका छन् । उनका पिताले कंगना भाजपाबाटै चुनाव लड्ने तयारी भइरहेको समेत जानकारी दिएका छन् । 

भाजपाका राष्ट्रिय अध्यक्षसँग कंगनाको भेट दुई दिनपहिले कंगनाले भाजपाका राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डासँग कुल्लूमा भेट गरेकी छिन् । यो भेटले उनी राजनीतिमा आउने चर्चालाई थप बढावा दिएको छ । 

कंगनाको परिवार भाजपा निकट भएका कारण पनि यो भेटले चर्चा पाएको हो । यही भेटले उनी राजनीतिमा आउने तय भएको बुझिएको छ ।

पछिल्लो समय कंगना भाजपाको भातृ संगठन राष्ट्रिय स्वयंसेवक संघको कार्यक्रममा सहभागी भएकी थिइन् । 

कहाँबाट उठ्छिन् कंगना? अहिलेसम्मको जानकारी अनुसार कंगना चुनावमा उठ्ने मात्रै तय भएको छ । उनका पिताका अनुसार कहाँको टिकट दिने भन्ने कुरा पार्टीले तय गर्न बाँकी छ । कंगनाले गुजरात, उत्तर प्रदेश, महाराष्ट्र, चंडिगढ र हिमाचल प्रदेशमा चुनाव लड्ने चर्चा रहेको छ । यिमध्ये पनि हिमाचलबाट उनी उठ्ने सम्भावना बढी छ । 

कंगना हिमाचल प्रदेशको भावला गाउँमा जन्मे–हुर्केकी हुन् । केही समयअघि उनले मनालीमा घर बनाएकी थिइन् । उनको परिवार पनि मनालीमै स्थायी बसोबास गर्ने भएकाले हिमाचलबाटै टिकट पाउने सम्भावना बढी छ ।

उमेरले ३६ वर्ष पुगेकी कंगना अभिनेत्रीका साथै चलचित्र निर्मातासमेत हुन् । उनले प्रायः हिन्दी चलचित्रमा अभियन गरेकी छिन् । उनले सन् २०२० मा पद्मश्री पुरस्कारसमेत पाएकी छिन् ।