ब्रेकिङ स्टोरी

नेपाल एयरलाइन्सले राख्यो पाँच चिनियाँ जहाज लिलाममा

By खबरहब

December 21, 2023

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पाँचवटा चिनियाँ हवाई जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई-१२ ई जहाज लिलाम बढाबढमा बेच्न लागेको हो । यी चिनियाँ हवाई जहाजहरू तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने छ । त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।

निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बेच्न लागिएको हो । निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।