गन्तव्य

भरतपुर भ्रमण वर्ष : बलियो पूर्वाधार, फितलो व्यवस्थापन  

By खबरहब

December 21, 2023

चितवन– आउँदो अंग्रेजी नयाँ वर्षलाई भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष’ अर्थात ‘भिजिट भरतपुर २०२४’ कार्यक्रमका रुपमा मनाउँदैछ । राजधानी काठमाडौँ आवत-जावत गर्ने ‘सेन्टर ट्रान्जिट पोइन्ट’का रुपमा रहेको भरतपुर आफैँमा पर्यटकीय विविधताले भरिपूर्ण छ । भरतपुरमा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा आउँदो एक वर्षमा १० लाख पर्यटक भित्र्याउने महानगरपालिकाले महत्वाकांक्षी लक्ष राखेको छ ।

नेपाल पर्यटन बोर्डसमेत प्रवर्द्धक रहेको यो कार्यक्रममा पर्यटन क्षेत्रका तीन ठूला संस्था नाट्टा, टान र हानको साथ सहयोग छ ।महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसारका लागि दर्जन बढी समिति तथा उपसमिति बनाएर छलफल र सहकार्य अघि बढाएको छ । महानगरपालिका प्रमुख रेणु दाहाल ‘भिजिट भरतपुर’ कार्यक्रम सफल पार्ने महानगरको पहिलो दायित्व भएको बताउँछिन् ।

चितवन राष्ट्रिय निकुञ्जका कारण पनि भरतपुर, मेघौली र सौराहामा पर्यटकको वर्षेनी लाम लाग्ने गरेको छ । भरतपुरकै बाटो भएर सौराहा र मेघौली जाने पर्यटकले गर्दा नै भिजिट भरतपुरको कार्यक्रम सफलताउन्मुख देखिएको महानगरको दाबी छ ।

भरतपुरमा पर्यटनका सम्भावना अथाह छन् । तर, व्यवस्थापकीय पक्ष भने फितलो रहँदै आएको छ । यहाँ पर्यटनका मुख्य सम्भावना यस्ता छन् :

 १. वन्यजन्तु पर्यटन :

चितवन राष्ट्रिय निकुञ्ज युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । बाघ, गैंडा, हात्तीका कारण चितवन राष्ट्रिय निकुञ्ज सँधै चर्चामा रहने गर्छ । विश्वमै दुर्लभ तर चितवनमा पर्याप्त रुपमा रहेका बाघ र गैँडाका कारण चितवन राष्ट्रिय निकुञ्जमा वर्षेनी लाखौँ पर्यटकले भ्रमण गर्छन् ।

अहिले वन्यजन्तु हेर्न व्यवसायिक रुपमा सौराहा र मेघौलीबाट जंगल सफारी हुने गरेको छ । यसका लागि काठमाडौँ लगायतका ठाउँबाट जाने पर्यटक भरतपुर भएरै जानुपर्छ । यसकारण चितवन जाने हरेक पर्यटक भरतपुर टेकेर जाने भएपछि भिजिट भरतपुर कार्यक्रमको घोषणा नै लगभग ८० प्रतिशत पर्यटन व्यवसायीका लागि ठूलो सम्भावना र अवसर हो । यसले भरतपुरका व्यवसायी र नागरिकको रोजगारी सिर्जना तथा अर्थोपार्जनमा पनि ठूलो सहयोग सहयोग गर्ने अपेक्षा छ ।

२. स्वास्थ्य पर्यटन :

‘भिजिट भरतपुर’ कार्यक्रमका योजनाकार डा.विश्व सुवेदीका अनुसार चितवन स्वास्थ्य पर्यटनले पनि चर्चित नाम हो । भरतपुर क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका कारण पनि भरतपुर प्राय चर्चामा रहन्छ । डाक्टर तथा नर्स बन्न पढ्न आउने विद्यार्थी र क्यान्सर बिरामीले प्राय भरतपुर टेकेकै छन् ।

अहिले भएकै पूर्वाधारलाई अझ व्यवस्थित र आकर्षक बनाउन सक्ने हो भने भरतपुरमा अहिले आइरहेका मेडिकल क्षेत्रका पर्यटकलाई स्वतः आकर्षित गर्न सक्छ । चिकित्सा शिक्षा पढ्न आउने विद्यार्थी र क्यान्सरको उपचार गर्न आउने बिरामीले पनि फुर्सदका बेला अनिवार्य रुपमा भ्रमण भरतपुर गर्नेछन् ।

स्वास्थ्य पर्यटनका हिसाबले यसअघि नै स्थापित भरतपुर यो कार्यक्रमले थप विशेष हुनेमा ‘भिजिट भरतपुर’ कार्यक्रमका योजनाकार सुवेदी विश्वस्त छन् ।

३. खेल पर्यटन :

हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले निर्माण घोषणा गरेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का कारण भरतपुर पहिल्यैदेखि चर्चामा छ । कलाकारले चन्दा उठाएर निर्माण घोषणा गरेको रंगशालाको जग निर्माण भइसकेको छ । आर्थिक अभावका कारण पूरा गर्न नसकिएको यो रंगशालाको बाँकी संरचना निर्माण गर्ने जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिका मिलेर निर्माण सम्पन्न गर्न लागेको यो रंगशाला प्याराफिटसहित मूलपानी क्रिकेट रंगाशालापछि नेपालको दोस्रो ठूलो र उत्कृष्ट रंगाशाला हुनेछ । यो रंगाशाला निर्माण सम्पन्न भएपश्चात पछिल्लो समय भारतको प्रभावले नेपालमा बढ्दै गएको क्रिकेट क्रेज झन् उचाइमा पुग्दा त्यसको ‘सेन्टर पोइन्ट’ हुनेछ ।

मेयर दाहालकै शब्दमा यो रंगशाला बोर्डर नजिक भएका कारण पनि भारत र पाकिस्तानका लागि पनि ‘न्युट्रल भेन्यु’मा खेल्ने विकल्प हुनेछ । त्यसबाहेक विश्वकै चर्चित हात्तीपोलो लगायत खेलका कारण पनि भरतपुर चर्चामै छ । त्यसलाई फेरि सुरुवात गर्नु महत्वपूर्ण हुनेछ ।

४. कृषि पर्यटन :

कृषि तथा वन विश्वविद्यालय भरतपुरमै अवस्थित छ । जहाँ वर्षेनी सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न पुग्छन् । चितवन राष्ट्रिय निकुञ्जका कारण पनि वन विश्वविद्यालय झन् उत्कृष्ट छ । मलिलो माटो र व्यवसायिक सम्भावना भएका कारण चितवनमा धेरै किसिमका बाली उत्पादन हुने गर्छन् । त्यसमाथि केरादेखि पोल्ट्री व्यवसाय चितवनमा निकै फस्टाउँदो छ । एकातिर विद्यार्थीलाई पढ्ने ठाउँ र अर्कातिर व्यवसायिक रुपमा फस्टाउँदो कृषि व्यवसायका कारण ‘भिजिट भरतपुर’ कृषि पर्यटनका लागि पनि हब हो ।

५. जल पर्यटन :

भरतपुरलाई सबैभन्दा बढी चर्चा दिलाउने शब्द हो, नारायणघाट । त्रिशूली र कालीगण्डकी मिसिएर विशाल किनार बनाएर बग्ने नारायणी नदीका कारण पनि भरतपुर सँधै चर्चामा रहने गर्छ ।

पछिल्लो समय भरतपुरमा रहेको नारायणी नदी किनार पर्यटकका लागि नयाँ आकर्षक गन्तव्य हो । साँझपखको नारायणी नदीमा झुम्मिनेको भीड नै लाग्ने गरेको छ । नारायणी नदीमा र्याफ्‌टिङ, बोटिङदेखि स्टिमर र क्रुजसम्मको जलसफारी महत्वपूर्ण मानिन्छन् । भरतपुरको अर्को नाम नारायणघाट भएका कारण पनि भिजिट भरतपुरले पानी पर्यटनको पर्याप्त सम्भावना देखिन्छ । 

यसबाहेक चितवन तथा भरतपुर प्राकृतिक र सांस्कृतिक हिसाबले पनि उत्कृष्ट छ । चितवनको सदरमुकाम भएका कारण पनि भरतपुर भ्रमण गर्नेको संख्या उल्लेख्य रहँदै आएको छ ।

फितलो व्यवस्थापन :

पर्यटकको संख्या कमी नभए पनि चितवनमा पर्यटन पूर्वाधार र व्यवस्थापन फितलो रहँदै आएको छ । पर्यटन व्यवसायीहरू असाध्यै नाफामुखी र सरकारी कर्मचारी केवल पूर्वाधार निर्माणमुखी हुँदा व्यवस्थापन वर्षौँदेखि फितलो रहँदै आएको हो ।

भिजिट भरतपुर कार्यक्रमले चितवन आउने एक-एक पर्यटकको गणनादेखि उनीहरूको बसाईँलाई रमणीय तथा अविष्मरणीय बनाउन आवश्यक छ ।

अन्यथा प्रचुर सम्भावना र तामझामका साथ घोषणा गर्न लागिएको ‘भिजिट भरतपुर २०२४’ कार्यक्रम पनि कोभिड महामारीले अलपत्र परेको ‘भिजिट नेपाल २०२०’ जस्तै बन्न सक्छ ।