फाइल फोटो

ब्रेकिङ स्टोरी

कोरियाको पानीजहाज परीक्षामा अनुतीर्णले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने

By खबरहब

December 21, 2023

काठमाडौं – कोरियाको पानीजहाज निर्माण सम्बन्धी कामका लागि भाषा परीक्षामा अनुतीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् ।

उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

यसअघि पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनिएको थियो ।

तर रोजगार अनुमति प्रणाली (इपीएस) को उक्त निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालतले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो ।

न्यायाधीशहरु राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको इजलासले उनीहरुलाई रोक नलगाउनु भनी अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन आदेश जारी गरेको छ ।

इपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुन गत सोमबारदेखि शुक्रबारसम्म आवेदन दिन आह्वान गरेको थियो । रोजगार अनुमति प्रणाली अन्तर्गत यस वर्षदेखि दक्षिण कोरियाले पानी जहाज बनाउने कामदारका लागि छुट्टै परीक्षा लिन सुरु गरेको थियो ।