अन्तर्राष्ट्रिय

स्पेनमा प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध व्यापक प्रदर्शन

By खबरहब

January 22, 2023

काठमाडौँ- युरोपेली मुलुक स्पेनको राजधानी मड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध व्यापक प्रदर्शन भएको छ । चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको प्रदर्शनमा हजारौं मानिस भेला भएका थिए । चुनाव हुन लागेको वर्ष स्पेनमा सरकार विरोधी प्रदर्शन चर्किएको हो ।

पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रदर्शनकारीले प्रधानमन्त्री सान्चेजको राजीनामा माग गरेका छन् । प्रदर्शनमा सहभागि कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्वीरसहित उनलाई ‘देशद्रोही’ को संज्ञा दिएका थिए । र्‍यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार जना भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ ।

आयोजकले प्रदर्शनमा करिब ७ लाख मानिसहरूले भाग लिएको दाबी गरेका छन् । देशको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टी भोक्स र पपुलर पार्टी पीपीलगायत दक्षिणपन्थी पार्टीका समर्थकहरु प्रदर्शनमा भेला भएका थिए ।