राजनीति

बालुवाटारमा प्रचण्ड र देउवाबीच के भयो कुराकानी ?

By खबरहब

February 22, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाटलाई भने तीव्र बनाएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री दाहाललाई भेट्नुुअघि आफ्नै निवासमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेका थिए । राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरुले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर आजै प्रधानमन्त्री र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो ।

कांग्रेस सभापति देउवाले आजै लोसपा, जसपा र समाजवादीका नेताहरूसँग भेट गरेका थिए ।