फाइल फोटो

राजनीति

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख किन थुनेको ? : सांसद विमला राई पौड्याल

By खबरहब

March 22, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ ।

नेकपा एमालेकी सांसद विमला राई पौड्यालले मंगलबार वानेश्वरको एक कार्यक्रममा नाराबाजी गर्ने युवाहरुको मुख थुनेको घटनालाई लिएर गृह मन्त्रालयको जवाफसमेत माग गरेकी छन् ।

राष्ट्रिय सभाको जारी बैठकको शून्य समयमा पूर्वमन्त्रीसमेत रहेकी उनले सामाजिक सञ्जालमा प्रहरीले २ युवाको मुख छोपेको फोटो आएको भन्दै किन मुख थुनिएको हो ? भन्ने प्रश्न गर्दै त्यसको जवाफ माग गरेकी हुन् ।

‘प्रहरीले घाँटी न्याकेको र बोल्न खोज्नेको मुख छोपेको फोटो आएको छ । उनीहरूले के बोल्न खोजेका थिए, बोल्न पनि नपाउने ? प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ? मिल्दैन भने उनीहरूलाई कारबाही हुन्छ कि हुँदैन ? गृह मन्त्रालयको जवाफ चाहन्छु’, जवाफ माग्दै उनले भनिन् ।

मंगलबार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डविरुद्ध केही युवाले ‘बैंकको ब्याज मिनाहा गर,’ ‘गरिबमारा प्रचण्ड मुर्दाबाद’ भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो ।