फाइल तस्वीर

राजनीति

अयोग्य माओवादी लडाकुलाई रकम बाँड्ने सरकारी निर्णय आर्थिक अराजकताको पराकाष्ठा : राप्रपा

By खबरहब

March 22, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा रकम वितरण गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण गर्ने सरकारी निर्णय आर्थिक अराजकताको पराकाष्ठा रहेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

माओवादी लडाकुको नाममा यसअघि निकासा भएको अर्बौं रकम हिनामिना भएको आरोप खेपिरहेका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अयोग्य लडाकुलाई जनही २ लाख राहत दिन कार्यविधि बनाउने निर्णय गरेको थियो ।

जसको चौतर्फी आलोचना भइरहेका बेला राप्रपाले पनि विरोध जनाउँदै सरकारको आर्थिक अराजकताको पराकाष्ठा रहेको टिप्पणी गरेको हो ।

देशको अर्थतन्त्र धरापमा पर्दै गएका बेला पुरानो हिसाब नदेखाई फेरि लडाकुलाई रकम बाँड्ने सरकारको निर्णय अनुचित, बलजफ्ती र आर्थिक अराजकताको पराकाष्ठा हो,’ पार्टीका प्रवक्ता श्रेष्ठले भनेका छन् ।