फाइल तस्वीर

ब्रेकिङ स्टोरी

उपनिर्वाचन : पृथ्वी राजमार्गअन्तर्गत तनहुँ-१ मा भोलि गाडी नचल्ने

By खबरहब

April 22, 2023

तनहुँ – उपनिर्वाचनका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी नचल्ने भएका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेँसीसहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको हो ।

तनहुँ–१ निर्वाचन क्षेत्रमा आइतबार उपनिर्वाचन हुने भएकाले गाडी निषेध गरिएको हो ।  उपनिर्वाचनका दिन अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दूध बोक्ने ट्याङ्कर, फोहर बोक्ने सवारी साधन, स्वास्थ्य संस्थाका सवारी साधनलाई भने निर्वाधरुपमा सञ्चालन गर्न दिइनेछ ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुत बनाइएको प्रजिअ रिजालले जानकारी दिए । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । 

उपनिर्वाचनका दिन हावाहुरी र पानी परेको खण्डमा मतपत्र र मतपेटिका सुरक्षाका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको उनले बताए ।