ब्रेकिङ स्टोरी

उपप्राध्यापक चलाउनेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

By खबरहब

June 22, 2023

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

उक्त रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।

आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने सरकारको निर्णय बदरको माग गर्दै उनले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । 

उनले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । 

तर, उक्त मुद्दा सरकारले फिर्ता लिएको छ । सो निर्णयविरुद्ध चलाउने अनशन बस्ने भन्दै गत सोमबार जिल्ला अदालत पुगेका थिए । सो क्रममा उनीसहितलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।