ब्रेकिङ स्टोरी

मुना-मदनको डिभोर्स पार्टी

By खबरहब

July 22, 2023

वास्तवमा यो कथा नलेखिनु पर्थ्यो, तर लेख्दैछु। स्वर्गको कुनै एक ठाउँमा एक अनौठो र तामझामपूर्ण जमघट छ। चारैतिर झलमल्ल बत्ती बलिरहेका छन्। सुन्दर बगैंचा ती बत्तीले झन मनमोहक बनेका छन्। हजारौं सहभागी निकै सुन्दर पहिरनमा यताउती गरिरहेका छन्। रक्सी, चुरोट, गाँजा, भाङ जसलाई जे जे खान मन छ त्यो सबै पाइन्छ। त्यसैले सबैजना आ-आफ्ना रुची अनुसारका पदार्थ लिएर मस्ती गरिरहेका छन्। तास जुवा खेल्न चाहानेहरुका लागि पनि सबै व्यवस्था छ।

कोहीमस्तसँग जुवा खेलिरहेका, कोही तास खेलिरहेका छन्। फेरि रक्सी र चुरोटले गन्ध मात्र होइन एउटा अनौठो मीठो बास्ना आएको छ। त्यसैले कुनै अप्ठेरो छैन। बरु थप रमाइलो छ। त्यो झिलिमीली, त्यो बगैंचा, एक से एक मानिस, मधुरो किरण सबैले वातावरण विल्कुल मोहक छ। ठाउँ ठाउँमा कतै डिस्को, कतै ठूला ठूला गायक, गायिका र ब्याण्डका कन्सर्ट, कतै दोहोरी, कतै भजन। मनोरञ्जन र विलासितामा कुनै कमी छैन। लाग्छ, त्यहाँ दुःख, पीडा, अभाव, विछोड, कुनै कुराको बोध हुँदैन।

कसैलाई कसैको मतलब छैन। यतिसम्म कि, जसलाई जे मनपर्छ त्यही र त्यत्ति पहिरनमा छन्। इच्छा लाग्नेले लुगा लगाएका छन् नलाग्ने नाङ्गै पनि छन्। कसैलाई कुनै बन्देज र नियम छैन।

यति भव्य र स्वतन्त्र पार्टी स्वर्ग लोकमा पहिलो पटक आयोजना गरिएको छ। स्वर्ग पुगेका त भैहाले केही पृथ्वीका मानिसहरु पनि अतिथिको रुपमा आएका छन्। पार्टीस्थल छिर्ने ठाउँमा बडेमानको स्वागतद्वार बनाइएको छ। जसमा लेखिएको छ, “मुना–मदनको डिभोर्स पार्टी”। भव्य पार्टीको यो जमघट स्थलको पल्लो कुनामा एउटा भव्य स्टेज बनाइएको छ। जुन बगैंचा भन्दा अलिक अग्लो र फराकिलो छ। प्रशस्तै रङ्गिन बत्तीहरु जडान गरेर निकै उज्यालो बनाइएको छ।

स्टेजको नजिकै एउटा कुर्सीमा महाकवि देवकोटा लगातार चुरोट तान्दै बसेका छन्। शान्त, स्थिर र चिन्तित देवकोटा आफ्नै सुरमा केही सोचेर बसेका छन्। उनको सोच र शैली देख्दा लाग्छ, उनी यो दुनियाँ भन्दा पर छन्। यो रमझम र आजको कार्यक्रमसँगै उनी कुनै सरोकार राख्दैनन्। या भनौं, कार्यक्रमको विषय र शैलीसँग उनी सहमत छैनन्। तर चुप छन्। अरु त उपाय पनि छैन। “यो भव्य पार्टीमा पस्थित स्वर्गलोक तथा पृथ्वीबाट आउनुभएका हाम्रा आदरणीय पाहुनाहरु”, स्टेजमा चढेर माइक समाउदै पाण्डव सुनुवार कार्यक्रम सुरु गर्छन्।

भाषा नेपाली नै प्रयोग गरिन्छ, किनकी प्रत्येक सहभागीलाई अघि भित्र पस्ने बेलामा कानमा लगाउने एउटा एउटा मेसिन दिइएको छ। जसमा सेट गरेपछि अटोमेटीक आफ्नो भाषामा अनुवाद गर्छ। सबैले त्यो कानमा लगाएका छन्।

पाण्डव सुनुवार बोल्न थाल्छन्, “यसअघि कहिल्यै नभएको यो भव्य र विशाल पार्टीको उद्देश्य त यहाँहरुले बुझिहाल्नु भयो। नेपालको निकै चर्चित प्रेम जोडी मुना र मदनको आज डिभोर्स हुँदैछ। त्यसैको खुसियालीमा यो स्वतन्त्र र स्वच्छन्द सीमाहिन पार्टी आयोजना गरिएको हो। विवाह गरेर पनि सँगै स्वतन्त्र हुन चाहने संसारभरका जोडीको लागि यो एक प्रेरक सुरुवात हुने हामीले विश्वास लिएका छौँ। मुना र मदनको यतिका वर्षपछि यो स्वर्गलोकमा पनि किन डिभोर्स हुन लाग्यो होला ! त्यो रहस्य हामी केही बेरपछि उहाँहरुकै मुखबाट सुन्नेछौँ।”

सहभागी सबैमा एक कौतुहलता जागृत हुन्छ। सबै मुखामुख गर्दै हुन्छन्। यसैबीच उनी फेरि बोल्न थाल्छन्, “सबैभन्दा पहिला आजको यस भव्य पार्टी र जमघटका प्रमुख अतिथीलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। उहाँ हुनुहुन्छ मुना-मदन र उहाँहरुको प्रेमका सुत्रधार नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा।”

पाण्डवले माथि स्टेजमा आउन बारम्बार आग्रह गर्छन्, तर उनी आउदैनन्। चुप लागेर चुरोट तान्दै बस्छन्। केही नलागेर पाण्डवले माइक्रोफोन लगेर त्यहीबाट केही बोल्न आग्रह गर्छन्। माइक लिएर देवकोटा यत्ति बोल्छन्, “नोथिङ टु से।”

यसबाट बुझिन्छ, यो सबै कुराबाट उनी सन्तुष्ट छैनन्। हुन पनि हो, आफैंले रोपेको विरुवा आज उखेलिदै जो छ !

मुना-मदन जस्तै अरु पनि संसारका चर्चित र अमर प्रेमजोडी त्यहाँ बोलाइएको रहेछ। जस्तै रोमियो-जुलियट, लैला-मज्नु, मुकुन्द-इन्दिरा, वीर-जारा आदि सबै छन्। पाण्डवले सबैको परिचय गराउँछन्। अनि स्टेजमा बोलाउछन्, बहुप्रतिष्ठत आजका मुख्य जोडी मुना र मदनलाई। उनीहरु फरक फरक कुनाबाट हाँस्दै आउँछन्। दुबैको मुहारमा न कुनै पीडा छ, न चिन्ता, बरु पहिला भन्दा बढी खुशी र निर्धक्क छन्। आएर आ–आफ्ना कुर्सीमा बस्छन्। सबैजना तालीले स्वागत गर्छन्। पहिरन पनि पहिला हामीले देखेको जस्तो होइन, पुरै आधुनिक छ। शरीरको धेरै जसो भाग उदाङ्गै छ। पाण्डवले उद्घोषण गरेपछि दुबैलाई कुनै महंगो ह्वीस्कीको एक एक पेग ल्याएर दिइन्छ। दुबैले उठेर चियर्स गर्छन् र एकै पटकमा स्वाट्टै पार्छन्। अनि दुबै जना पालैपालो बोल्न थाल्छन्।

सुरुमा मदनको पालो, सुरु गर्छन्, “सर्वप्रथम त हाम्रा जन्मदाता महाकवीज्यूलाई हृदयदेखि नै धन्यवाद र सँगै म यहाँ हजुरसँग माफी पनि माग्छु कि, हजुरले चाहे जस्तो हामी युगौँ युग सँगै रहन सकेनौं। जुन दिनदेखि पृथ्वीका विलासी कुरा स्वर्गलोकमा भित्रिए, तबदेखि विस्तारै हामीले पनि ती कुराको आनन्द लिँदै गयौँ। जस्तै, मदिरा पिउन थाल्यौँ, चुरोट पिउन थाल्यौँ, कहिलेकाही सँगै र कहिले छुट्टाछुट्टै क्लब, डिस्को, क्यासिनो जान थाल्यौं। अझ महत्त्वपूर्ण कुरा त हामीले सामाजिक सञ्जालको महत्त्व बुझ्न थाल्यौं। अनि फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक, युट्युव सबैमा आ–आफ्नो खाता खोल्यौं र तिनमा डुव्न थाल्यौ। त्यसपछि हामीले बुझ्यौँ कि संसार त निकै रमाइलो र सुन्दर रहेछ। हामी त ढुङ्गेयुगमा बाँचिरहेका रहेछौँ। एक अर्कालाई प्रेम गर्ने, परिवारलाई प्रेम गर्ने नाममा दुनियाँका धेरै ठूलाठूला आनन्दबाट टाढा भएका रहेछौं।”

यति भनेर बाँकी कुरा भन्न उनी मुनालाई आग्रह गर्दछन्। त्यसपछि मुना बोल्न थाल्छिन्, “त्यसरी रंगिन संसारमा डुब्न थालेपछि हामीले विस्तारै एक अर्काको चरित्रमाथि पनि शंका गर्दै गयौँ। एक अर्काको पासवर्ड पनि लुकाउन थाल्यौँ। अनि झगडा हुन थाल्यो। झगडा बढ्दै गएर यतिसम्म हुन थाल्यो कि एउटै घरमा भएर पनि महिनौंसम्म हाम्रो बोलचाल हुन छोड्यो। त्यो पीडा बिर्सन झन धेरै मदिरा पिउन थाल्यौँ। दुवै जना खुलेआम रुपमा म केटा साथी र मदन केटी साथी बनाएर देखाइ–देखाइ हिड्न थाल्यौँ। आमा दिदीहरुले हामीलाई सम्झाउने धेरै प्रयास गर्नुभयो। तर सक्नु भएन। अनि हामीले सधैँको रडाको र बन्धनबाट मुक्ती पाउने उदेश्यले सल्लाह मै डिभोर्स गर्ने निर्णय गयौँ। साथै आधुनिक युगको सबै भन्दा ठुलो जित नै स्वतन्त्रता र सबै भन्दा ठुलो पर्व नै स्वतन्त्रता दिवस हुनाले यसलाई भव्य बनाउन र स्वर्गलोकमा रहेका हामी जस्तै स्वतन्त्रता चाहने अन्य जोडीलाई बाटो फुकाइदिन यो पार्टी आयोजना गर्यौँ।”

पाण्डव सुनुवार पुन माइक लिएर बोल्न थाल्छन्, “र योसंगै आज स्वर्ग लोकको यो सबै भन्दा भव्य जमघटमा घोषणा गरिन्छ कि, मुना र मदनको डिभोर्स सम्पन्न भएको छ। अब उहाँहरु आ–आफ्नो जीवनमा स्वतन्त्र हुनुहुन्छ।” पुनः तालिको फोहरा छुट्छ। “तर हाम्रो कार्यक्रम सकिएको छैन।” उनी अझै बोल्दै छन्। सबैको ध्यान आकृष्ट हुन्छ। “यो विशाल ऐतिहासिक कार्यक्रममा हामीले केही व्यक्तिलाई सम्मान गर्ने योजना बनाएका छौँ। जसले त्यस्ता रंगिन कुराहरु सिर्जना गरेर संसारलाई बदल्न सफल भएका छन। ती महान अन्वेषक एंव सञ्चालनकर्तालाई हामी मुना र मदनकै हातबाट संयुक्त सम्मान गर्दैछौं।”

सबै जना उत्सुक भएर हेर्छन। किनकी सबैमा कौतुहाल्ता जाग्छ। यस्तो भव्य समारोहमा सम्मानित हुने भाग्यमानी को होलान ! कैयौँलाई कतै आफू पर्छु की भन्ने आश पनि लाग्छ।

पाण्डव बोल्न थाल्छन्, “सम्मानित व्यक्तिहरुमध्ये म सबै भन्दा पहिला डाक्छु मदिरा उत्पादकका प्रतिनिधिलाई, कल्पना गरौँ त यदि मदिरा नभैदिएको भए यो संसार कति निराश हुन्थ्यो होला ? त्यसै मदिरा बनाउने ती महान निर्मातालाई हामीले यो स्वतन्त्रता दिवसमा सम्मान गर्नैपर्छ। त्यसका लागि डाक्दैछु अहिले संसारका दुई ठुलाठुला मदिरा उद्योगका सञ्चाकलाई उहाँहरु हुनुहुन्छ- जोन वाकर र नाथन निअरेष्ट। जसका मदिराले संसारभरर छरिएर संगै संसारलाई निक्कै ठूलो गुन लगाएका छन्।”

सम्मानित दुबै जना प्रसन्न मुद्रामा स्टेजमा आउछन्। मुना र मदनले दुवैलाई सम्मान गर्छन र अन्तिममा एक एक पेग ह्वीस्की चियर्स गर्छन्। अनि बिदा गर्छन्। उता सम्मानको क्रम अगाडि बढ्छ।

पाण्डव सुनावार फेरि अघि सर्छन, “हामी सबैलाई थाहै छ, खेलकुद बिना नत जीवन सम्भव, न संसार सम्भव छ। यो खेल सम्भव छ। यो खेलमा पनि नशाको मात मिसाएर संसारलाई अर्को गुन लगाउने क्यासिनोलाई पनि हामीले बिर्सनु हुँदैन। त्यसैले क्यासिनो सञ्चालकलाई पनि हामीले सम्मान गर्ने योजना बनाएका छौं।” फेरि तालीको फोहरा छुट्छ।

“त्यसका लागि पृथ्वीमा क्यासिनोको धेरै भन्दा धेरै सञ्जाल फैलाएर संसारका करोडौं मानिसलाई गुन लगाउने मध्ये दुई जना प्रतिनिधिलाई हामीले यहाँ डाकेका छौं र सम्मान गर्दैछौँ। उहाँहरु हुनुहुन्छ स्टानली हो र स्लेडन एडेल्सन।”

ताली र हुटिङबीच उनीहरु पनि खुसी हुँदै स्टेजमा आउँछन्। मुना मदनले सम्मान गर्छन्। अनि फर्केर जान्छन्। समारोह निरन्तर छ। मात्ने, रमाउने, खेल्ने, झगडा गर्ने काम जताततै भइरहेको छ। आज सबैलाई सबै छुट छ। अघि कपडा लगाएका मध्ये पनि कोहीकोही नाङ्गिन थालेका छन। तर कुनै रोकतोक छैन। कसैको कसैलाई वास्ता छैन।

निरिह देवकोटा अघिकै कुर्सीमा उही चिन्तित अनि मलिन अनुहार लिएर चुरोट तान्दै छन्। अब त उनलाई कसैले वास्ता पनि गरेको छैन।

स्पिकरमा फेरि पाण्डव सुनुवारको आवाज गुन्जिन्छ, “सम्पूर्ण सहभागीहरुलाई अझै धेरै मज्जा लिन र यो साँझलाई अविस्मरणीय बनाउन हार्दिक आग्रह गदर्छु। साथै सम्मानको क्रम अगाडि बढाउन चहन्छु। अब सम्मानित हुने पालो छ संसारको सम्पूर्ण चुरोट र सूर्ती कम्पनीका तर्फबाट दुई जना प्रतिनिधिको। किनकी सूर्ती र चुरोटले पनि कत्ति मानिसलाई तनाव कम गरिदिने, दुःख बिर्साइदिने आदि गरेर मानव जातीलाई ठूलो गुन लगाएको छ। अर्को कुरा कति क्यान्सर अस्पताल र डाक्टरको संख्या बढाएर कैयौंको रोजीरोटी पनि चलाएको छ। त्यसैले चुरोट कम्पनीको यो गुन सम्झेर हामीले आज सम्मान गर्ने निर्णय गरेका छौं। चुरोट उत्पादकको तर्फबाट आज हुनुहुन्छ-फिलिप मोरिस र रिचर्ड जोस्वा।”

उनीहरु पनी भव्य तालीबीच स्टेजमा आउँछन् र सम्मान लिएर फर्कन्छन्। “अब पालो निकै महत्वपूर्ण क्षेत्रलाई सम्मान गर्ने। ती हुन् विभिन्न सामाजिक सञ्जालहरु आज मुना र मदनको यो स्वतन्त्र जीवनका मुख्यकारण तिनै हुन्। सायद ती स्वर्गमा नआइदिएको भए न त मुना र मदनले यो स्वतन्त्रता पाउँथे न यो भव्य पार्टी आयोजना हुन्थ्यो। त्यसैले ती सञ्जाललाई हामीले विशेष सम्मान गर्ने विचार गरेका छौं। उहाँहरुलाई क्रमशः म स्टेजमा आउन आग्रह गर्छु। उहाँहरु हुनुहुन्छ, फेसबुक र इन्स्टाग्रामका संस्थापक/संचालक मार्क जुकरवर्ग, टिकटकका संस्थापक झाङ यिमिङ, ट्वीटरका हालका सञ्चालक एलन मस्क र युट्युबका संस्थापकर जावेद करिम, स्टिभ चेन र चाड हर्ली।”

नियमित जस्तै उनीहरु पनि आउछन्। सम्मानित हुन्छन् अनि फर्कन्छन्।

पाण्डव सुनुवारको आवाज स्पिकरमा फेरि सुनिन्छ, “अब सम्मानित हुने एक जना व्यक्ति बाँकी हुनुहुन्छ। उहाँ साँच्ची नै खास हुनुहुन्छ। ती जति पनि सामाजिक सञ्जाल चलाएर हामीले जीन्दगीको मजा लुटिरहेका छौं, तिनको लागि नभई नहुने अत्यावश्यक साधन मोवाइल हो। त्यसैले यसका आविष्कारकलाई पनि हामीले सम्मान गर्दैछौं। उहाँ हुनुहुन्छ मार्टिन कुपर।”

आवश्यकता अनुसार ताली बज्नेक्रम जारी छ। सेतै दाह्री फुलेका कुपर स्टेजमा जान्छन्। सम्मान थापेर फर्कन्छन्। अनि मुना र मदनले सबैलाई सकेसम्म धेरै रमाइलो गर्न आग्रह गर्दै स्टेजबाट बिदा माग्छन्। औपचारिक कार्यक्रम सकिन्छ।

नशाले मात्तिएकी मुना स्टेजबाट झर्न लाग्दा झण्डै लड्दिनन्। विस्तारै सम्हालिन्छिन्। उता मदन कुनै एक सुन्दरी (सायद उनको नयाँ साथी) सँग अंगालो मार्दै नाच्न थाल्छन्।

एक्कासी स्टेजमा एकजना दुब्लो, अग्लो, दाह्री पालेको, ओभरकोट लगाएको मान्छे आउँछ र माइक समातेर बोल्न थाल्छ, “यस विशाल पार्टीका सहभागी साथीहरु, म अमेरीकाको सोह्रौँ राष्ट्रपति अब्राहम लिंकन हुँ।” सबैजना आफ्नै तालमा भए पनि केहीले त्यता चासो दिन्छन्।

लिंकन बोल्दै जान्छन्, “यहाँहरुलाई थाहै छ पृथ्वीमा हुँदा अमेरिकाको राष्ट्रपति हुनु भन्दा अगाडि म एक वकिल थिएँ। त्यसैले मलाई कानुनी ज्ञान राम्रै छ। अहिले स्वर्गलोकमा बेरोजगार भएपछि मैले एक वकिल कार्यालय खोलेको छु। जसको नाम नै राखेको छु, “युनिभर्सल डिभोर्स सर्भिस।” जहाँ मात्रै श्रीमान श्रीमतीको डिभोर्स गराउने काम गरिन्छ। अहिले संसारमा सबैभन्दा धेरै काम त्यसैको हुनाले मैले यो कार्यालय खोलेर सेवा दिन थालेको हुँ। त्यसैले यदी कोही डिभोर्स गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ।”

विस्तारै स्टेजको चहकिलो बत्ती निभ्छ। तलबाट आएको थोरै उज्यालो बत्ती बाँकी रहन्छ। केही ताली बज्छन्। पार्टी थप रोमान्चक र स्वतन्त्र बन्दै जान्छ। अधिकांश नशामा मस्त छन्। कोही बसेको निश्चित र स्थायी प्रेमीका, जीवनसाथी छैनन्। जो जोसँग नाच्न अंगालिन र चुम्बन गर्न स्वतन्त्र छन्।

लाग्छ, स्वर्गमा एक नयाँ युगको सुरुवात भएको छ, सूर्ती, चुरोट र मदिराको युग ! तास, जुवा र जालझेलको युग ! मोवाइल, कम्प्युटर र सामाजिक सञ्जालको युग ! समग्रमा प्रेम नामको अनावस्यक र वाहियात बन्धन बिनाको स्वतन्त्र युग।

महाकवी देवकोटा एउटा चुरोट हातमा लिएर विस्तारै मधुरो स्टेजमा जान्छन्। चारैतिर हेर्छन्। हजारौं मान्छेको कोलाहलयुक्त भीड छ। कसैलाई कसैको वास्ता छैन। उनलाई हेर्ने फुर्सद त कस्लाई होस् ! विस्तारै हातको चुरोट तल खसालेर खुट्टाले टेक्छन्। खल्तीमा भएको बट्टा निकालेर भीडमा फ्याँक्छन्। सोचमा डुबेर कताकता हेर्छन् अनि आँखाबाट दुई थोपा आँसु तप्प झार्छन्। ती महान श्रृष्टिकर्ताको पीडा नै पीडाले भरिएको त्यो अमूल्य आँसु त्यो थोरै उज्यालोमा कसैले देख्दैन।