आर्थिक

भगवती हाइड्रोपावरको प्रिमियम आईपीओ आजबाट बिक्रीमा

By खबरहब

August 22, 2023

काठमाडौँ– भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले फेस भ्याल्यु १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँको दरले आईपीओ बिक्रीमा ल्याएको हो। यसमा सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।

यस्तै, ५ प्रतिशत (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहने छ ।

रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । 

केयर नेपालले २०७९ असार ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ वैशाख २२ गतेसम्म कायम रहनेछ ।