देश/प्रदेश

छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले शुल्क तिर्नु पर्दैन : काठमाडौँ महानगर

By खबरहब

August 22, 2023

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा यस शैक्षिक सत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ ।

कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी गरेको भन्ने गुनासोका आधारमा महानगरको शिक्षा विभागलेले यसबारे प्रस्ट पारेको हो ।

विभागले यही भदौ १ गते पत्र पठाइ कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी (संस्थागत) विद्यालयका सञ्चालकलाई बोलाइ छात्रवृत्तिमा सिफारिस भएका कुनै विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिएमा कारबाही गर्ने चेतावनी पनि दिइसकेको छ ।

सोसँग सम्बन्धित गुनासो सम्बोधन भएको र अझै बाँकी रहेमा महानगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले गत साउन २० गते छात्रवृत्ति परीक्षामा सम्मिलित भई म्याचिङ प्रणालीबाट अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई यही भदौ ३ गतेसम्म सम्बन्धित शिक्षण संस्थामा भर्ना गरी जानकारी गराउन पनि पत्राचार गरेका थिए ।