मनोरञ्जन

‘चोपेन्द्र’ बन्नुअघि र पछिका मुकुन

By संगम ढकाल

December 22, 2023

काठमाडौं– मुकुन भुसाल अर्थात् ‘बुलबुल’का चोपेन्द्र अहिलेका चल्तीका अभिनेता हुन् । पहिलो फिल्मबाटै सफलताको स्वाद लिएका उनले चार वर्षको अवधिमा सात फिल्म र विभिन्न म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

अर्घाखाँचीको सन्धीखर्कमा जन्मिएका ३२ वर्षीय मुकुनले अभिनयमै मास्टर्स गरेका छन् । उच्च शिक्षाको डिग्री अभावले गर्दा व्यवसाय हापेका उनी अहिले अभिनयमा जमेका छन् ।

पढाइमा आफूलाई ‘बिलो एभरेज’ मान्ने उनी फिल्ममा काम गर्न पढाइको निकै आवश्य ठान्छन् । उनी थप्छन्, ‘फिल्मका प्राविधिक शब्द बुझ्न पढाइ आवश्यक छ । फिल्म पढ्दा नै चिनजान बढ्ने र काम पाउन सजिलो हुन्छ ।’ तर, उनले अभिनयमा स्नातक गरेपछि पनि काम नपाएर डिप्रेसनमा जाने डरले भारत गएको खबरहबसँग खुलाएका छन् ।

‘बाइक मिस्त्री’को परिचय हापेर बुलबुलमा चोपेन्द्र बनेर फिल्म क्षेत्रमा प्रवेश गरेका मुकुन अब भने एक्सन अवतारमा देखिने योजनामा छन् ।

बदमासी नै फिल्म हेर्ने

मुकुनका बुबा शिक्षक सेवाबाट निवृत्त भएर पारिवार पाल्न कानुन व्यवसायीको काम सुरु गरे । एक दाइ र एक दिदीका भाइ मुकुन बाल्यकालमा पढ्न भने आफू कमजोर तर पढ्नैपर्छ भन्ने परिवारको दबाब रहेको सम्झन्छन् ।

उनी थप्छन्, ‘पढाइमा गणित मेरो टाउको दुखाइको विषय थियो । गणित चाहिँ पढ्नै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । चोरेरै भए पनि पास चाहिँ हुन्थेँ तर नम्बर एकदमै कम आउँथ्यो ।’

गणितमा कमजोर भएका कारण कक्षा ९ मा वैकल्पिक विषयमा अर्थशास्त्र रोजेका उनी ५३ प्रतिशत ल्याएर एलएलसी पास गरेको बताउँछन् ।बाल्यकालमा स्कुल र घर नजिकै भएको बेला खुलेर बदमासीसमेत गर्न नपाएको उनी स्मरण गर्छन् ।

उनी थप्छन्, ‘सरहरु घर छेउमै हुन्थे । घरमा आज बदमासी गर्‍यो भने भोलि स्कुलमा पिटिहाल्थे, त्यही भएर घरमा जम्न पाइएन । बदमासी भनेकै फिल्म हेर्ने गरिन्थ्यो । टिभीमा हिन्दी फिल्म हेरिन्थ्यो । नेपाली फिल्मको पहुँच थिएन ।’

मोटर ग्यारेज छोडेर फिल्ममा

एसएलसीपछि काठमाडौं आएका मुकुनले व्यवस्थापनमा बाह्र सकेर भारतमा छाटो समयको अभिनय सिक्न गए । नेपाल फर्किएर काठमाडौंमा मोटर ग्यारेज खोले । मोटर ग्यारेज राम्रै चलेको स्मरण गर्दै उनी भन्छन्, ‘मोटरसाइकल धुने, बनाउने सबै काम हुन्थ्यो । राम्रो चलेको थियो । मिस्त्री पनि राखेको थिएँ । आफैँ पनि काम गर्थेँ । म पनि मिस्त्री हो ।’

काम–धन्दा राम्रै चले पनि उनलाई उच्च शिक्षाको डिग्री अभाव खड्कियो र अभिनयमा डिग्री लिन सन् २०१३ मा ओस्कर कलेजमा भर्ना भए । उनी स्मरण गर्छन्– भारतमा अभिनयको ‘सर्ट टर्म’ कोर्ष गर्दा मजा लागेका कारण यही विषय पढौं भनेर कलेज बुझियो । त्यहीबेला फिल्म पढ्न ओस्कर कलेज मात्रै थियो ।

रुचि भएकाले उनी साथीहरुको ‘प्रोजेक्ट वोर्क’ मा अभिनय गर्न थाले । उनी भन्छन्, ‘पछि निर्देशन पढ्ने साथीहरुलाई कलाकार चाहिँदा पहिलो रोजाइमा म नै पर्थेँ ।’

कलेजका साथीको नजरमा परे पनि फिल्मी सर्कलमा चिनजान नभएका कारण उनले ब्याचलरपछि फिल्ममा काम पाएनन् । त्यसपछि एकवर्ष कामविहीन बन्दा डिप्रेसनमै जाने डर भएपछि पढाइलाई अघि बढाउने सोच आएको बताउँदै उनी भन्छन्, ‘भारतमा मास्टर्स डिग्री सकेर नेपाल फर्किएको दोस्रो दिनमा नै फिल्मको अफर पाएँ । ‘बुलबुल’मा अनुबन्ध भएँ ।’

मुकुनबाट चोपेन्द्र

मुकुनको पहिलो फिल्म बुलबुल हो । फिल्ममा नायिका स्वस्तिमा खड्काको जोडी ‘चोपेन्द्र’को भूमिका उनी देखिए । फिल्मसँगै उनको पात्र–परिचय पनि हिट भयो ।

पहिलो फिल्मै सफलताको स्वाद चाखेका मुकुनले यो फिल्म आफ्नै कलेजका प्रध्यानाध्यापकले निर्माण गरेका कारण अवसर पाएका हुन् ।

उनी भन्छन्, ‘निर्देशक विनोद पौडेलले नै फोन गर्नुभएको थियो । भारतबाट मास्टर्स सकेर नेपाल आएको दोस्रो दिन फोन आयो । आउ एउटा फिल्ममा काम गरौं भन्नुभयो । अनि घरबाट काठमाडौं आएँ । आएकै दिन सम्झौता भयो, वर्कसपमा बसियो ।’

चोपेन्द्रको पात्रलाई अन्तिम रुप दिन आफूलाई धेरै मिहेनत नपरेको उनी बताउँछन् । कलेज पढ्दा नै सो पात्रको बारेमा आफूले अनुसन्धान गरेको बताउँदै मुकुन थप्छन्, ‘मैले ब्याचलर गर्दा विनोद पौडेल सर बुलबुलको स्क्रिप्टको काममा हुनुहुँदो रहेछ । फिल्म बनाउने सोचेर मलाई टेम्पोको रिसर्च गर्न दिनुभएको रहेछ । मलाई चाहिँ थाहा थिएन । त्यसबेला मैले देखेका मानिसहरुको मिश्रण गरेर चोपेन्द्र पात्र बनेको हो । कलेज पढ्दै रिसर्च भएकाले सजिलो भयो । वर्कसपमा त्यसलाई मूर्तरुप दिइयो ।’

अनुसन्धानमा क्रममा सुन्धाराबाट छुट्ने सबै रुटमा टेम्पोको यात्रा गरेको उनलाई याद ताजै छ ।

चोपेन्द्रको सफलताले फेरिएको मुकुनको कर्म

फिल्ममा निर्वाह गरेको पात्रबाट चिनिने मौका सौभाग्य कमै कलाकारले पाउँछन् । पहिलो फिल्मकै क्यारेक्टर ‘चोपेन्द्र’बाट मुकुन नेपाली सिने क्षेत्रमा स्थापित भए, उनको परिचय नै पात्रको नाम बन्यो ।

उनी भन्छन्, ‘अहिले मलाई नामले चिन्ने भन्दा पनि चोपेन्द्र भनेर चिन्ने धेरै छन् ।’

यथार्थपरक फिल्मले नेपाली बजारमा स्थान पाइरहेका बेला आफूलाई सो पात्रले अन्य कामका लागि मुकुन निर्माताको नजरमा परे । यही फिल्मबाटै उनले इन्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभलबाट बेस्ट एक्टर अवार्ड र निफ्टबाट जुरी स्पेशल मेन्सन अवार्डसमेत पाए ।

उनी भन्छन्, ‘यही फिल्मपछि कामहरु विस्तारै आउन लागे । मेकरहरुसँग ठोक्किँदै गइयो । त्यो फिल्मबाट मैले डेब्यू नगरेको भए अहिले जसरी काम नपाइन पनि सक्थ्यो । दोस्रो फिल्ममा आफ्नो मुखबाट पारिश्रमिक बोल्ने मौका नआउन पनि सक्थ्यो ।’

आफू ५० वर्षपछि अनियनमा काम गर्दा त्यसको श्रेय बुलबुलको ‘चोपेन्द्र’लाई लिने उनी बताउँछन् । उनी थप्छन्, ‘त्यो पात्रले ठूलो छाप छोड्यो, त्यो क्यारेक्टर हिट भयो । दर्शकले मन पराए । क्यारेक्टर हिट हुँदा एक्टरलाई निकै नै फाइदा गर्दो रहेछ ।’

निर्माणमा जाने सोच छैन

अभिनयमा मुकुनको दख्खलको विषय हो । उनले सातवटा चलचित्र गर्दा दर्शक, निर्देशक र निर्माताको रोजाइमा परिसकेका कलाकार हुन् । पछिल्लो समय उनको व्यस्ताले पनि यो कुरा स्पष्ट पार्छ ।

तर दूर भविष्यमा पनि आफू अभिनयबाट टाढा नरहने उनी बताउँछन् । फिल्मका सबै क्षेत्रमा काम गर्न क्षमता भए पनि अभिनय नै आफ्नो रुचि भएको उनको तर्क छ ।

उनी थप्छन्, ‘आफूले जे राम्रो गर्न सक्छु जस्तो लाग्छ, त्यही नै गर्ने हो । सक्दासम्म अभिनय नै गर्ने हो । भविष्यको कुरा अहिल्यै भन्न त मिलेन तर पछि पनि निर्माणमा जान्छुजस्तो चाहिँ लाग्दैन । मलाई निर्माणमा मनै छैन ।’

यद्यपि आफ्नो अभिनयको विधा भने परिवर्तन गर्ने मुडमा मुकुन देखिन्छन् ।

‘एक्सनमा फिल्मको चाहाना भगवानले सुनेजस्तो छ’

मुकुनले गरेका ७ वटा फिल्म सामाजिक, पारिवारिक र राजनीतिक ‘ड्रामा’मा आधारित छन् । अब तर उनलाई अब भने ‘एक्सन मूभी’मा देखिने इच्छा रहेको बताउँछन् ।

उनी थप्छन्, ‘म एक्सन फिल्म सायद छिट्टै गर्छु पनि होला । मेकरहरुसँग कुरा पनि भइरहेको छ । फाइट सिकेर र ज्यान बनाएर मज्जाले नै आउन मन छ । भगवानले सुनिसकेको जस्तो लागेको छ ।’

अहिले काम गरेको विधाभन्दा फरक र चुनौति मोल्न एक्सनमा आउने योजनमा रहेको उनको जिकिर छ ।

म्युजिक भिडियोमा छैन सोख

मुकुनले म्युजिक भिडियो नगरेका भने होइनन्, उनका केही म्युजिक भिडियो सुपरहिट समेत बनेका छन् । तर उनी यसतिर खासै रुचि नभएको बताउँछन् ।

उनी थप्छन्, ‘लकडाउनमा केही काम गरियो तर मलाई अभिनय नै ठीक लाग्छ । त्यता काम गर्न खासै सौख छैन ।’

‘के माया लाग्छ र ?’ हिट भएपछि म्युजिक भिडियोको अफर अत्यन्तै आए पनि आफूले नगरेको उनको दाबी छ ।

म्युजिक भिडियोमा त पैसा छ नि ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘पैसा त मेरै ग्यारेजमा राम्रो थियो नि ।’

केमा व्यस्त ?

मुकुन अहिले आगामी प्रोजेक्टको गृहकार्यमा व्यस्त छन् ।

मुकुनको मुख्य भूमिका रहेको यस फिल्ममा नायिका रेखा थापा पूजा शर्माको पनि अभियन रहेको छ । सो फिल्म आगामी फागुन २५ गते प्रदर्शनमा आउँदै छ ।

त्यस्तै ‘म राजेश हमाल’ र ‘बिच्छेद’ दुई फिल्म तयार भए पनि प्रदर्शनमा आउन बाँकी रहेको उनी बताउँछन् ।

त्यस्तै, ‘बिजुली’ र ‘ज्वाइँ साप’ दुई चलचित्रमा उनको सम्झौता भइसकेको छ । उनी भन्छन्, ‘माघ र चैतमा यी फिल्म छायांकनमा जाने तयारी छ ।’