समाचार

आगलागी नियन्त्रण तथा उद्धार कार्यको अभ्यास प्रदर्शन

By खबरहब

February 23, 2023

सर्लाही- सर्लाही सदरमुकाम मलङ्गवामा आज आगलागी नियन्त्रण तथा उद्धार कार्यको अभ्यास अभ्यास प्रदर्शन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागितामा जिल्ला समन्वय समितिको तीन बिघे मैदानमा आगलागी नियन्त्रण तथा उद्धार कार्यको संयुक्त अभ्यास गरिएको हो ।

सुक्खायाम सुरु भएसँगै यहाँ आगलागीको जोखिम धेरै हुने भएकाले सबै सुरक्षा निकायबीच समन्वय गरी आगलागी नियन्त्रण तथा उद्धार अभ्यास गरिएको सर्लाहीका प्रहरी प्रवक्ता कैलाश राईले जानकारी दिए । मलङ्गवाको तीनबिघे मैदानमा सानो झुप्रो बनाई त्यसमा आगो लागेको देखाई सो आगलागी नियन्त्रण गर्दै आगोमा पररेर घाइते भएकालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको दृश्य प्रदर्शन गरिएको थियो ।

प्रत्येक वर्ष सुक्खायाममा आगलागी हुँदा सर्लाही जिल्लामा ठूलो जनधनको क्षति हुने गरेको छ । अभ्यास कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीलगायत सहभागी थिए ।