फाइल तस्वीर

देश/प्रदेश

यान्त्रिक अवस्था ठिक नभएका २६ सवारी साधनका चालक कारवाहीमा

By खबरहब

March 23, 2023

काठमाडौँ- काठमाडौँको कीर्तिपुरमा ट्राफिक प्रहरीले आज विशेष चेकिङ्गका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधनहरुलाई मर्मत गराएर र तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको कीर्तिपुर क्षेत्रमा आज खटिएको थियो ।

सवारी साधन चलाउदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न उक्त टोली खटिएका हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्न यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई अनुरोध गरेका छन् ।