अन्तर्वार्ता

अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थिरता आवश्यक

By खबरहब

April 23, 2023

समयमै देशको अर्थतन्त्रको विषयमा राज्य गम्भीर नबन्दा यसमा केही गम्भीर समस्या देखिएका छन्। सरकारले तत्काल नागरिकलाई भ्रम छर्न सुधार भएको बताए पनि त्यो हुन सकेको देखिँदैन। देशको अर्थतन्त्रको वास्तविकता के हो ? यसको सुधारका लागि सरकारले के गर्नुपर्छ ? निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि के पहल गर्न सक्छन् ? देशको अहिलेको अर्थतन्त्रको वास्तविक चित्र के हो ? खराब छ भने कसरी सुधार गर्न सकिन्छ ? यी र यस्तै विषयमा आधारित भएर नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष चण्डीराज ढकालसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

तपाईंले अहिलेको अर्थतन्त्रलाई कसरी लिनुभएको छ। यो सुधार भएको कुरामा विश्वास गर्नुहुन्छ ? सुधार भयो भनेर समाचार प्रकाशन गरेका छौं। त्यसलाई ख्यालमा राखेर सुधार भएको नभएको भन्न सकिन्छ। अर्थतन्त्र सुधारका पनि सिद्धान्त हुन्छन्। यो आजको भोलि डामाडोल हुने र आजको भोलि नै सुधार हुने हुँदैन। प्राकृतिक र सैद्धान्तिक रुपमा गतिविधि सञ्चालन हुन नसक्दा सुधार नभएको देखिन्छ। अहिले ठूलो रकममा आयात गरेको वस्तु जसलाई सही रूपमा सदुपयोग गर्न नसकेको कारण हामी पछि परेका छौं। धेरै कार्यमा हामीले हात हालेर त्यसलाई पूरा गर्न नसकेको अवस्था छ। नागरिकको दैनिकी र आवश्यकताको ख्याल गर्न सक्नुपर्ने हुन्छ। विलासिताका सामान धेरै आयात भएको कुरामा ध्यान नदिएको कारण अर्थतन्त्रमा अलि असहजता भएको हुनसक्छ।

अहिलेको अवस्थामा निजी क्षेत्र हतोत्साहित छ कि आशा लाग्दो अवस्थामा छ ? नेपालको निजी क्षेत्र यस्तो अवस्थामा छ। १० वर्षे जनयुद्धमा पनि निजी क्षेत्र थियो। तराई आन्दोलन, नाकाबन्दी, महाभूकम्प जस्तो कार्यले हान्दाहान्दा यो क्षेत्र शिथिल भएको छ। सानो तिनो पिन पेन्चले केही असर गर्दैन। तर आर्थिक डेटा हेर्दा सबै भन्दा ठूलो उद्योग उत्पादनमा नै पैसा कमी भएको अवस्था छ। हाम्रो देशमा रोजगारीको क्षेत्रमा वृद्धि भएको छैन। निजी क्षेत्र सुरक्षित अवस्थामा रहेका छैनन्।

वास्तवमा मुलुक आठ वटा बैंकले मात्र चलाए, अन्यको औचित्य नै छैन भनिन्छ। यसमा निजी क्षेत्रको भूमिका के रहन्छ ? वित्तीय क्षेत्रको १८/१९ वटा ठूला हाउसका कारण पैसा त्यहाँ गएर बसेको अवस्था छ। यसले गर्दा अर्थतन्त्र नकारात्मक पक्षतर्फ जान्छ। त्यसपछि विकासले गतिशीलता पाउँदैन। अझै पनि वित्तीय क्षेत्रलाई सही रूपमा प्रयोग गरेर नियमिततामा ल्याउन सकिएको छैन। कुनै पनि व्यवसाय सुरु गरेपछि त्यसलाई निरन्तरता नदिएमा त्यसमा हाम्रो पुँजी फस्ने खतरा हुन्छ। साथै रोजगारीको भ्यालु पनि घट्न जान्छ। अहिले साधारण किसानले पनि चामल किन्न जाँदा भ्याट तिरेको हुन्छ। राजस्व त सबै मान्छेले तिरेको हुन्छ। जसकारण अर्थतन्त्रले समाजलाई सही रूपमा अगाडि बढाउन सक्दैन। त्यसले सामाजिक क्षेत्रलाई अगाडि बढाउन सक्दैन। पुँजीमा कहिलेकाँही घाटा नाफा भनेको लगानी गरेको समय तथा स्थानमा हुने सामान्य कुरा हो।

निजी क्षेत्रको लागि अब गर्नुपर्ने काम के हो ? निजी क्षेत्र हतोत्साहित भएको कारण के हो ? समस्या एउटा हाम्रो आन्तरिक हो। अर्को समस्या भनेको रुस र युक्रेन युद्ध हो। रुस–युक्रेन युद्धले इन्धनदेखि खाद्यान्नसम्म संकट देखिएको छ। अर्थतन्त्रमा देखिएको असहजतासँग सानो सानो पक्षलाई हाम्रो आफ्नो सानो व्यवस्थाबाट समाधान गर्नुपर्ने हुन्छ। त्यसमा नै कमी भएको छ। हामीले करोडौंको फलफूल आयात गरेका हुन्छौँ। हामीले रोजगारी सिर्जना गर्ने र उत्पादनलाई प्राथमिकता दिने काम गर्नुपर्छ। जतासुकै समस्या भइरहेको अवस्थामा छ। ७–८ लाख मानिस बाहिर गएर हजारौंको संख्यामा त्यही मानिसहरूको लास नेपालमा ल्याइएको बिडम्बनापूर्ण अवस्था छ। यो राज्य र समाजको लागि सुखद कुरा भने होइन।

तपाईं बैंक, उद्योग व्यवसाय र सरकारमध्ये केमा समस्या देख्नु हुन्छ ? मुख्य समस्या सरकारमा नै रहेको छ। बैंक वा उद्योग सबै सरकारको साथमा नै आधारित छन्। उद्योग क्षेत्र डुबे पनि वित्तीय क्षेत्र डुबे पनि त्यसको नकारात्मक असर त राज्यमा नै पर्ने हुन्छ। राज्यले समय सापेक्ष रूपमा नीतिगत कुराहरूलाई सहमतिमा ल्याएर कार्यान्वयनमा लान नसकेको कारण विभिन्न समस्या देखिएको हो। रोजगारीको अवसर संकुचित हुँदै गएको छ। पर्यटन क्षेत्रका नाममा एकै पटक ठूलाठूला होटेलमा लगानी गरिएको छ। त्यसले वित्तीय क्षेत्रलाई असर पारेको हुनसक्छ। पहिलो कुरा हाम्रो राजनीतिक क्षेत्र स्थिर हुनुपर्छ।

निजी क्षेत्रमा पनि खिया लाग्यो, स्वार्थीपन बढ्यो। अब निजी क्षेत्रबाट गर्न सक्ने सुधार के के हुन् ? अहिलेको निजी क्षेत्रमा ‘ओभर नाइट’ बाट करोडपति हुने एउटा मनस्थिति देखिएको छ। नेपालमा उद्योग गर्नु भनेको पितृको श्राद्ध गरेर प्रायश्चित गरे बराबर भएको छ। उद्योग सञ्चालन गर्नुपर्छ भने सहजता सरलताको रूपमा छलफल हुन सक्नुपर्छ। तर यहाँ त्यसको कमी रहेको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रस्तुति : कुसुम गौतम