ब्रेकिङ स्टोरी

चितवन २ : नयाँकिरण माविमा रोकिएको मतदान सुरु

By खबरहब

April 23, 2023

चितवन- चितवनको निर्वाचन क्षेत्र नम्बर २ को भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा स्थगित भएको मतदान सुरु भएको छ । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि स्थगित भएको मतदान सुरु भएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको थियो ।  नयाँ किरण मावि भोजाड केन्द्रमा रहेको मतदान स्थलमा दुई घण्टाभन्दा बढी समय मतदान स्थगित भएको थियो ।

निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच चार बुँदे समझदारी भएसँगै मतदान पुनः सुरु भएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दलका प्रतिनिधिसँगको छलफलपछि मतदान सुरु गरिएको जानकारी दिए। नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका थिए ।

यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले ३ः१५ बजेसम्म ५३ प्रतिशत मत खसेको आचार्यले बताए। आज बिहान ७ बजेदेखि मतदान जारी छ । 

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।  यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् ।