दिनभर आज तीन वटै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न, आजै रातिबाट मतगणना सुरु हुने, अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र, एसीसी प्रिमियर कपमा युएईको उत्कृष्ट जित, सिंगापुर २०१ रनले पराजित, राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धिलगायतका समाचारले स्थान पाए ।
तीन वटै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न, आजै रातिबाट मतगणना सुरु हुने
बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको मतदान सम्पन्न भएको छ ।
केही स्थानमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । यी तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।
यसैबीच, आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ।
तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन्।
मुचुल्का उठाएर र मतपेटिका मतगणना केन्द्रमा पुर्याएपछि मतगणना सुरू हुने थपलियाले बताए। बारा-२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए।
चितवन-२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ। यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने थपलियाले बताएका छन् ।
यसैबीच, मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करिब ६० प्रतिशत मतदान भएको देखिएको छ । जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति ११ बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ ।
मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आज आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।
अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र
अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ ।
पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो ।
समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्न चाहनेले नियमानुसार स्वीकृति लिनुपर्ने उल्लेख छ । स्वीकृति लिएर प्रकाशन भए-नभएको स्थानीयरूपमा निरीक्षण तथा अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था समितिको दिग्दर्शनमा रहेको परिपत्रमा उल्लेख छ ।
सरकारले बिदा स्वीकृत पर्नुपूर्व नै स्वीकृति नलिई गलत मुहूर्त र चाडपर्व राखी प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो बजारमा छ्याप्छ्याप्ती रहेकाले निरीक्षण एवं अनुगमन गरी सचेत गराउन र आगामी वर्षदेखि यस्ता काम कारबाही नियन्त्रण गर्न-गराउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पत्राचारबमोजिम सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरिएको उपसचिव शर्माले राससलाई जानकारी दिनुभयो । गृह मन्त्रालयको परिपत्रपछि अनधिकृतरूपमा प्रकाशन भइरहेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोका कारण चाड, पर्व, तिथि, मितिका बारेमा हुने समस्या समाधान हुने विश्वास लिएको समितिले जनाएको छ ।
१६ नम्बर वाहिनी र जगदल गणलाई प्रधानसेनापति ट्रफी
नेपाली सेनाको १६ नम्बर वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आज आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगीता यस पटक गत चैत २७ गते सुरु भएको थियो । प्रतियोगितामा एथेलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी गरी नौ विधाका खेल समावेश थिए ।
प्रतियोगिताअन्तर्गत सैनिक मुख्यालयको खेलमैदानमा जग दल गण र श्रीमेहर गणबीच आज भएको फुटबल खेलमा शून्यको विरुद्ध एक गोलले जगदल गण विजयी भई रु ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा श्रीमेहर गण दोस्रो र देवीदत्त गण तेस्रो घोषित भयो । दोस्रो र तेस्रो हुने गणलाई बलाध्यक्ष रथी सरोजप्रताप राणा र सीताराम खड्काले क्रमशः रु ४० हजार र रु २० हजार नगद, प्रमाणपत्र प्रदान गरे । प्रतियोगीतामा उत्कृष्ट गोल किपर जगदल गणका सञ्जय बराल र सर्वोत्कृष्ट खेलाडी सोही गणका सनी लामा घोषित भए ।
प्रतिभाशाली खेलाडीको पहिचान गरी खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले विसं २०६५ देखि यो प्रतियोगिता गरिँदै आएको छ । पछिल्लो समय ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण साबित भएको छ ।
समारोहमा विभिन्न खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गौरवमय पहिचान कायम गर्न सफल खेलाडीलाई पूर्वप्रधानसेनापतिद्वय गौरवशम्सेर राणा र राजेन्द्र क्षत्रीले पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगिताअन्तर्गत आर्चरी पूर्वी पृतना, ऐथेलेटिक्स र सुटिङमा १६ नं वाहिनी अड्डा, तेक्वान्दोमा उपत्यका पृतना, पौडीतर्फ विशेष फौज वाहिनी, भलिबलतर्फ मध्यपूर्वी पृतना प्रथम घोषित भएका थिए ।
एसीसी प्रिमियर कपमा युएईको उत्कृष्ट जित, सिंगापुर २०१ रनले पराजित
एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै युएईले चार अङ्क जोडेको छ ।
युएईले दिएको चार सय ७२ रनको विजयी लक्ष्य पच्छाएको सिङ्गापुर निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ७० रनमा समेटियो । सिङ्गापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ रनको योगदान दिए ।
त्यस्तै थिलिप उमीदुराईले ५२ रन जोडे भने सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८/३८ रन बनाए । युएईका लागि सचित शर्मा, कात्तिक मैयप्पन र आयन अफजल खानले समान दुई/दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै चार सय ७१ रनको योगफल तयार बनाएको थियो । युएईका लागि युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए । एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्दतमा एक सय ७४ रन जोडेका हुन् ।
त्यसैगरी, युएईका कप्तान मोहम्मद वासिमले एक सय ६० रन जोडे । उनले ८२ बलमा ९ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन् । आयन अफजल खानले ७४ रन बनाए । उनले ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रन बनाएका हुन् ।
यस्तै, युवा ओपनर आर्यन लाक्रा सात बलमा दुई चौकासहित १२ रनमा आउट भए । आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए । बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै, विनोथ भास्करनले दुई विकेट लिँदा मनप्रीत सिंहले एक विकेट लिए ।
उक्त प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भोलि नेपालले साउदी अरेबियासँग खेल्नेछ ।
नेपालसहित ५८ देशका आरोही सगरमाथा आरोहणमा
वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरूका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही पुगेका छन् । आरोहीको बास व्यवस्थापनका लागि टाँगिएका रंगीचंगी पाटले आधार शिविरमा रौनक छाएको छ ।
पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यतिखेर ३० भन्दा बढी आरोही समूहका झण्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा पुगेका छन् । उनीहरु सगरमाथाको चुचुरोमा पुग्न उपयुक्त मौसमको प्रतीक्षामा छन् । अहिले विभागबाट आरोहण अनुमति धमाधम लिइरहेका छन् । केही आरोही बीचबाटोमै छन् ।
विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि हालसम्म ४१ आरोही समूहका चार सय ५४ आरोहीले अनुमति लिएको जानकारी दिए। उनले अझै पनि केही कम्पनी अनुमति लिने क्रममा रहेको बताए। यो याममा सगरमाथा आरोहणका लागि उत्साहवद्र्धकरुपमा धमाधम आरोही आइरहेको उनले उल्लेख गरे ।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले दोस्रो शिविरसम्म बाटो बनाइसकेका छन् । दोस्रो शिविरभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घ (एक्सपीडिसन अपरेटर्स एशोसिएसन)ले बाटो बनाउने कामलाई तीव्रता दिएको छ ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाउने जिम्मा पाएको छ भने दोस्रो शिविरिभन्दा माथि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । यो याममा इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको हो ।
एसपिसीसीका अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथा आधार शिविरमा ३० आरोही समूहका आरोही पुगिसकेका बताउनुभयो । केही आरोही बीचबाटोमै छन् । सगरमाथा आरोहणमा निस्केका स्वदेशी तथा विदेशी आरोही र पदयात्रामा गएका पर्यटकले यतिखेर खुम्बुक्षेत्र भरिभराउ भएको अध्यक्ष शेर्पाले बताए।
सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवर्द्धक हुने अनुमान गरिएको छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने संकेत देखिएको बताए ।
विद्युत् आपूर्ति समस्या १५ दिनमा समाधान हुन्छ : विद्युत् प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका सुनसरी मोरङ औद्योगिक करिडोरलगायतका क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको जनाएको छ । बिनाजानकारी उद्योगहरूको विद्युत् आपूर्ति कटौती गरिएको भन्ने उद्योगीहरूबाट गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस क्षेत्रमा देखिएको समस्या १०-१५ दिनमा समाधान हुने र समस्यालाई बुझिदिन उद्योगीहरुलाई आग्रह गरे ।
यस वर्ष हिउँरपानी नपरेर शुख्खायाम लम्बिदा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको, धनुषाको ढक्केबर सबस्टेसनबाट थप विद्युत पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेको, सप्तरीको रुपनी सबस्टेसनको बे्रकर चुँडिएको र कटैया–कुशहवा १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहारबाट आयात भइरहेको विद्युत् उताबाट कटौती हुँदा माग अनुसार आपूर्ति गर्न समस्या भएको कार्यकारी निर्देशक घिसिङले आइतबार ऊर्जा क्षेत्रका सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
कार्यकारी निर्देशक घिसिङका अनुसार ताप्लेजुङ, पाँचथर र इलाममा निर्माण भएका जलविद्युत आयोजनाहरूको जडित क्षमता करिब दुई सय मेगावाट भएता पनि हिउँ-पानी नपर्दा अहिले करिब ३० मेगावाट मात्र विद्युत् उत्पादन भई काबेली करिडोर प्रसारण लाइनमार्फत प्रवाह भइरहेको छ । तर, एक दुई दिनदेखि ती आयोजनाहरूबाट विद्युत् उत्पादन बढ्दै गएकोले उद्योगहरूलाई अहिले नियमित विद्युत् आपूर्ति भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरूलाई विद्युत् काटेका छैनौं, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौं, काबेली करिडोरमा उत्पादन बढ्नासाथ उद्योगहरूलाई विद्युत् आपूर्ति दिन सुरु गरिसकेका छौं, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन’, उनले भने, ‘अब १०-१५ दिनमा पूर्व मनसुन सुरु हुने अनुमान गरिएको, त्यसपछि भएसँगै खोलानालामा पानीको वहाब बढेसँगै विद्युत् उत्पादन बृद्धि हुन्छ, त्यसपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् जेठको पहिलो हप्ताबाट भारतर्फ निर्यात सुरु गर्छौं, यस वर्ष करिब १ हजार २ सय मेगावाट विद्युत् निर्यात हुने अनुमान गरेका छौं, निर्यात अनुमतिको स्वीकृतिका लागि भारतीय निकायहरूमा आयोजनाहरूको सूची पठाइसकेका छौं ।’
अहिले प्रणालीमा विद्युत्को उच्चतम् माग १ हजार ७ सय ५० मेगावाट पुगेको छ । औसत माग १ हजार ३ सय मेगावाट र आधार माग १ हजार २ सय ७५ मेगावाट रहेको छ । तराईमा गर्मी बढ्दा खेतमा सिँचाइ गर्न सिँचाइको लोड अत्याधिक बढेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको छ ।
प्राधिकरणले कुलेखानी जलाशयलाई २४ सै घण्टा पूर्ण क्षमतामा चलाएको छ । आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक रुपमा औसतमा ५ सय मेगावाट आयात गरिएको छ । गत वर्षभन्दा यस वर्ष जलविद्युत आयोजनाहरूको जडित क्षमता बढेता पनि पानी÷हिउँ नपर्दा देशभित्रको विद्युत् उत्पादनमा करिब ३० प्रतिशत गिरावट आएको छ । प्राधिकरणका विद्युत्गृहहरु बाहेक निजी क्षेत्रका जलविद्युतगृहको विद्युत् उत्पादन जडित क्षमताको करिब १४ प्रतिशत मात्र रहेको प्राधिकरणको अनुमान छ ।
राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि
राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व संकलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ ।
विभागका अनुसार गत माघमा ३० अर्ब ८० करोड, फागुनमा रु ३१ अर्ब ८० करोड र चैतमा ३४ अर्ब ८० करोड बराबरको राजस्व संकलन भएको छ । सरकारले राजस्व वृद्धिका लागि आवश्यक पहल गरिरहेको छ । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर एक प्रतिशत बिन्दुभन्दा बढीले घटाएका छन् । निक्षेपको ब्याजदर घटाएका बैंक तथा वित्तीय संस्था कर्जाको ब्याजदर पनि क्रमशः घटाउने तयारीमा छन् ।
सरकारको खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु छ खर्ब ९५ अर्ब २३ करोड १५ लाख बराबरको राजस्व संकलन भएको छ । शुक्रबारसम्मको विवरणअनुसार सरकारले सात खर्ब ३६ अर्ब बराबरको राजस्व रकम प्राप्त गरेको छ । सो अवधिमा रु नौ खर्ब ५५ अर्ब २४ करोड ७६ लाख बराबरको खर्च गरेको छ ।
वैदेशिक मुद्राको सञ्चिति बढाउनका लागि सरकारले केही वस्तुको आयातमा रोक लगाएपछि भन्सार राजस्व संकलनमा केही दबाव परेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको आठ महिनामा कूल विदेशी सञ्चिति १४ खर्ब एक अर्ब २१ करोड बराबर पुगेको छ ।
सो अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४८ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो । यस्तै सो अवधिमा चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ ।
केन्द्रीय बैंकका अनुसार रु सात खर्ब ९४ अर्ब ३२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीले मात्रै सो अवधिमा रु ५४ अर्ब ७० करोड बराबरको रकम विदेश लगेका छन् । विदेश भ्रमणमा जानेले मात्रै रु ७६ अर्ब १२ करोड लगेका छन् । सरकारले यो खर्च कम गराउनेतर्फ विशेष ध्यान दिनुपर्ने जानकारहरुको भनाइ छ ।