अन्तर्वार्ता

नक्कली शरणार्थी प्रकरण : जाने र पठाउने दुबै देशद्रोही

By खबरहब

May 23, 2023

पछिल्लो समय देशमा नक्कली भुटानी शरणार्थी प्रकरण निकै चर्चामा छ। शीर्षस्थ नेताको नाक खुम्चिएको अवस्थामा छ। यो प्रकरणमा जो जति मुछिएका छन् नेपाली कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाण र नेकपा (एमाले)का नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र यससँग जोडिएका अन्य व्यक्ति ३२ देखि ३५ जनाको संलग्नतामा यो घटना भएको सरकारी कार्यालयलाई प्रहरीले बझाएको प्रतिवेदनमा उल्लेख गरिरहेको छ। अभियोग लागेकाविरुद्ध तीन दिन म्याद थप गरिएको छ। यो विषयमा राजनीतिक रूपमा शीर्षस्थ नेताबीच छलफल भइरहेको छ। यसको अनुसन्धानले अभियोग लागेकालाई कस्तो सजाय सुनाउन खोजेको छ ? यस्ता घटनाले राजनीतिक दलप्रतिको आम नागरिकले हेर्ने हेराइमा कस्तो असर पार्छ। यी र यस्तै विषयमा आधारित रहेर वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्षस्थ नेतृत्व नै संलग्न हुनुलाई कसरी हेर्नुभएको छ ? मैले यो घटनालाई दुई पक्षबाट हेरेको छु। पहिलो कुरा जो नेतृत्वमा छ उसले योजना बनायो होला। जसले आफ्नै नागरिकलाई विदेशी बनाएर देशद्रोह गरेका छन्। अर्को एउटा नेपाली नागरिक पैसा राखेर आफ्नो नागरिकता बेचेर विदेशमा जान्छ। बिडम्बना पैसामा नागरिकता बेच्दासमेत विदेश जान पाएन र यो कुरा अगाडि आयो। त्यो जुन व्यक्ति जसले नागरिकता बेचे र जसले विदेश पठाउने धन्दा चलाए यी दुवै नै देशद्रोही हुन्। उनीहरू माथि पनि कारबाही गर्नुपर्छ। यसमा पीडित होइन। उसले मैले मेरो नागरिकता बेच्न पाइन भनेर कारबाहीको माग गरेको छ। दुवै पक्षमाथि छानबिन गरेर कारबाही गर्नुपर्छ।

यस्तो अवस्था ल्याउने दोषी को त ? यसमा हामीले भुटानको आन्दोलन र शरणार्थी प्रकरणलाई हेर्नुपर्ने हुन्छ। म रेडियो नेपालमा घटना र विचार कार्यक्रम चलाउँदा यो आन्दोलन उत्कर्षमा भएर सबै शरणार्थीका रूपमा नेपालमा आएको समय हो। इन्डियाले भुटानी शरणार्थीलाई त्यहाँ नराखेर नेपालमा पठाएको थियो। भुटानका शासकको सोच त्यहाँ पूर्ण रूपमा जातीय सत्ता नै हो। राष्ट्रियताको कुरामा नेपालमा औपचारिक पोसाक दौरा सुरुवाल भए जस्तै त्यहाँ बक्खु लगाउनुपर्ने र जोङ्खा भाषा बोल्नुपर्छ।

यो प्रकरणको सन्दर्भमा तीन शीर्ष नेताको भेटलाई तपाईं के देख्नु हुन्छ ? उहाँहरूको आफ्नै घरको करेसामा आगो लागेको छ। त्यो कसरी निभाउने भनेर सल्लाह गरेर बस्नु भएको छ। नेपाली कांग्रेसका सभापति, एमाले अध्यक्ष र माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्रीले छलफल गर्नुभएको हो। यसमा मेरो विचारमा कानुनले उन्मुक्ति दिन पनि सक्छ। कानुन बलियो छ र कमजोर धागोमा अडिएको कानुन पनि छ। यो एउटा राष्ट्रिय चासोको विषय हो। त्यसैले यसलाई समाधान गर्न खोज्नु भएको होला भनेर बुझ्नुपर्छ। दलहरूको अहिलेको अवस्था भनेको सर्पको मुखमा छुचुन्द्रो छिरे जस्तै हो। निले पनि फाले पनि विष त लागिसक्यो। अहिले टोपबहादुर र बालकृष्णको कारणले नेतृत्व र पार्टी दुबैलाई असर त पारेको छ। तर यसले राजनीतिक प्रणालीलाई नै धक्का दिन थाल्यो। २०४८ सालदेखिका घटनाक्रम मान्छेले सोच्न थाले र किनभने यो त देखिएको घटना भयो। नदेखिएका कुरा कति होलान् भन्ने भइसक्यो। विगतका धेरै काण्ड छन्। ती बाहिर आउन सक्छन्। अहिले प्रणालीमा नै कमजोरी छ कि भन्ने कुरा भएको छ।

यस्ता घटनामा पुराना दल मुछिएका कारण नयाँ पार्टीलाई बल पुगेको हो ? बहुदलीय पद्धतिमा विकल्प पर्याप्त मात्रामा हुनसक्छन्। जो समर्थ हुन्छ त्यो नै अगाडि आउँछ। बहुदलीय प्रणालीमा अगाडि जाने भनेको लोभ लालच देखाएर, पैसा देखाएर होइन। वैकल्पिकरूपमा पुराना दलको विकल्पको रूपमा आउनुभयो भने राम्रो हो। तर त्यो विकल्पमा पनि नराम्रो दाग लाग्नु हुँदैन।

दोषीलाई जोगाउने र उम्काउने काण्डमा राजनीतिक दलले भूमिका निभाउँदै आएका हुन् त ? यो प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणको कुरामा मात्र होइन रामबहादुर थापा पनि निर्दोष हुनुहुन्छ जस्तो लाग्दैन। आफ्नै छोरा र सुरक्षा सल्लाकार संलग्न भएको थाहा हुँदैन त ? नन्दबहादुर पुनको छोरा पनि संलग्न भएको कुरा आइरहेको छ। पत्रकार देवप्रसाद त्रिपाठीले एउटा आर्टिकल लेख्नु भएको छ, ‘भुटानी शरणार्थीको समस्या सुरु भए पछि नेपालमा जिग्मेका मामा आउनुभएको थियो। ९ अर्ब रुपियाँ हामी दिन्छौँ यहाँका मान्छेहरूलाई तेस्रो मुलुकमा पठाइदेऊ वा त्यो निर्णय सरकारबाट गराइदिनुपर्छ भनेर तीन पटक बैठक भयो । तर मैले गलत कुरा हो भनेर अस्वीकार गरेँ।’ सरकारमा बस्ने मान्छेहरूले तेस्रो मुलुकमा शरणार्थी पठाइदिने निर्णय गर्ने अनि त्यो निर्णय गराउने मान्छेलाई ९ अर्ब दिने ? उहाँले लेख्नु भएको छ, ‘प्रधानमन्त्रीमा सूर्यबहादुर थापा र परराष्ट्रमन्त्रीमा भेषबहादुर थापा भएको बेला भेषबहादुरजीले त्यही प्रस्तावका पक्षमा भुटानमै गएर सिग्नेचर गरेर आउनुभएको थियो।’ त्यसैले यो विषयलाई फेद र जरो देखिनै ढंगले हेर्नुपर्छ। टुप्पोको फल मात्र हेरेर कसले खायो भनेर भन्न सकिँदैन। २०४० वा ४१ साल तिर मरिचमान प्रधानमन्त्री हुँदा टेकनाथ रिजाललाई भुटानमा लगेर थुनेको हो। त्यहाँ देखिनै सुरु भएको हो यो खेल। यो धेरै पुरानो छ। यो रोप्ने काम कसले गर्यो र नीतिगत रूपमा जसले तेस्रो मुलुकमा शरणार्थीलाई पठायो त्यसलाई खोज्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)