सांकेतिक तस्बिर

अपराध

विभिन्न स्थानबाट भरूवा बन्दुकसहित ३ जना पक्राउ

By खबरहब

May 23, 2023

काठमाडौं– देशका विभिन्न स्थानबाट तीनजना भरूवा बन्दुकसहित पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ बगौचा बस्ने ६३ वर्षीय चन्द्र बहादुर पाख्रिनलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी हरिहरपुरगढी र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले पाख्रिनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिन्धुलीकै कमलामाई नगरपालिका-१३ माथिल्लो रानिबाँस बस्ने ४७ वर्षीय केशव हायुलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा धानको भकारीभित्र लुकाई  छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ पासादेउ बस्ने ५८ वर्षीय केशर सिंह धामीलाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।