काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै खुमलटारले २० खेलमा २१ अङ्क जोडेको छ । समान खेल खेलेको सातदोबाटोको २९ अङ्क रहेको छ ।
त्यस्तै मंगलबार एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो ।
पुलिसको जितमा अहमद हिजाजीले २८ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिस २० खेलमा २५ अङ्क जोडेर आठौँ स्थानमा उक्लिएको छ । थ्री स्टार २० खेलमा २६ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।