राजनीति

भाजपाको निमन्त्रणमा माओवादी नेताहरू आज दिल्ली जाँदै

By खबरहब

July 23, 2023

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेताहरु आज भारत भ्रमणमा जाँदैछन् ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरु भारत भ्रमणमा जान लागेका हुन् ।

माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालको नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा जान लागेको हो ।

माओवादी केन्द्रका अनुसार भुषालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई छन् ।

भाजपाले संसारभरीका पार्टीहरुसँग सबन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रुपमा निम्तो दिएको हो ।

भारत भ्रमणको क्रममा माओवादी नेताहरुले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिनेछन ।