सांकेतिक तस्बिर

राजनीति

बुटवलका पूर्वउपप्रमुख खनालको निधन

By खबरहब

July 23, 2023

बुटवल- बुटवल उपमहानगरपालिकाका साविक बुटवल नगरपालिकाका पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको थियो ।

खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । लामो समयदेखि बुटवल वडा नं ७ शिवनगरमा स्थायी रुपमा बस्दै आएका खनाल विसं २०४६ को जनआन्दोलन पछि विसं २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए ।

पाल्पाको कुशुम खोलामा जन्मेका ८३ वर्षीय खनालका चार छोरा दुई छोरी र दुई श्रीमती छन् । यस्तै पूर्वउपप्रमुख खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आज अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको छ ।

आज दिउँसो शोकसभा गर्दै बुटवल उपमहानगरपालिकाले आइतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको हो ।

त्यस अवसरमा नगरप्रमुख खेलराज पाण्डेयले पूर्वउपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुःख व्यक्त गरे । सालिन नेताका रुपमा रहेका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति सम्हालेका थिए ।