ब्रेकिङ स्टोरी

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमालेले सर्वोच्चमा मुद्दा हाल्ने

By खबरहब

August 23, 2023

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ ।

संविधान र कानूनविपरीत सभाध्यक्षको मतबाट प्रदेशसभाले गत सोमबार मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको थियो । यसैविरुद्ध एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।

मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै त्यसको विरोधमा मुद्दा दर्ता गराउने भनी एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले यसअघि नै जानकारी दिइसकेका छन् ।

‘हाम्रो कानूनी लडाइँ र संसदभित्रको प्रतिवाद जारी नै रहन्छ, हामी फेरी पनि अदालत जादैछौं’ उनले भने ।

यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भए पछि सर्वोच्च अदालतले त्यसलाई मान्यतालाई खारेज गरेको थियो ।

पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री भएका थापाले विश्वासको मत लिँदा सभाध्यक्षको मतसमेत जोडेपछि एमालेले पुनः सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन लागेको हो ।