माइतिघर मण्डलाबाट लखेटिएर धर्ना बस्न रत्नपार्कस्थित शान्तिवाटिका पुगेकालाई पैदलयात्रुले भिखारी ठानेर ‘भिख’ दिएको मनिषा साहले बताइन् । धनुषाकी मनिषा आफ्नी दिदी आरती साहको न्यायको लागि धर्नामा छिन् ।
दाइजोका कारण हत्या गरेको भन्दै उनको परिवार विगत ६ महिनादेखि माइतिघरमा धर्नामा थिए । तर मंसिर ४ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सुरक्षाको कारण देखाउदै निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरु शान्तिवाटिका आइपुगेका छन् ।
युवा संघ नेपाल र दुर्गा प्रसाईँको प्रदर्शनमा मुठभेठ हुन सक्ने भन्दै प्रशासनले निषेध गरेपछि माइतिघरमा धर्नामा बसेकालाई रत्नपार्कस्थित शान्तिवाटिकामा ल्याएर राखिएको छ । तर शान्तिवाटिकामा धर्नामा बसेकालाई पैदलयात्रुले भिखारी ठानेर ‘भिख’ दिएको उनीहरूले गुनासो गरेका छन् ।
मनिषाका भाइ प्रेमले शान्तिवाटिका धर्ना बस्न लायक ठाउँ नभएको बताउँछन् । ‘यो न्याय माग्न बस्ने ठाउँ होइन, भिख माग्न बस्ने ठाउँ हो ।’ उनी भन्छन ‘बसपार्क जस्तो ठाउँमा ल्याएर प्रहरीले राखिदिएको छ । जताततै दिसापिसाब भेटिन्छ, दुर्गन्धले बसिसक्नु छैन’ । ग्यास जस्तो दुर्गन्ध र धुलो उत्तिकै भएकाले माक्स नलगाई बस्न नसकिने उनले बताए । यो ठाउँमा मिडिया र आफूहरूलाई समर्थन गर्नेहरू पनि कोही नआएको उनको गुनासो छ ।
म र बुवा कतै जानुपर्यो भने आमा र बैनीलाई मात्रै यहाँ छोड्न सकिने स्थिति नरहेको दुखेसो प्रेमले गरे । उनको अनुभवमा यो बाटो भएर हिँड्ने मान्छेले यहाँ आइमाई मान्छेलाई राम्रो नजरले हेर्ने रहेनछन् । पुलिस स्वयंले भन्यो यो माइतिघर मण्डला जस्तो सुरक्षित छैन । यहाँ रक्सी जाँड खाएर आउने उनले बताए । महिलासँग कस्तो व्यवहार गर्नुपर्छ, प्रहरीलाईसमेत थाहा नभएको आरोप उनको छ ।
त्यस्तै, मनिषाका बुवा विनोप्रसादले मंसिर ४ गते बेलुका ८ः३० बजेतिर प्रहरीले निषेधित क्षेत्र बनाएको भन्दै उनीहरूलाई माइतिघर छाड्न आदेश दिएको बताए । सूचना पनि नदिएर त्यहाँबाट उठ्न लगाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । सरकारको आफ्नो काम कर्तव्य होला, तर २४ घण्टा धर्नामा बसेकालाई कहाँ व्यवस्थापन गर्ने भनेर निक्यौल गर्नुपर्छ कि पर्दैन भनेर उनले प्रशासनलाई प्रश्न गरेका छन् । ‘निषेध घोषणा भयो, प्रहरी आएर ल उठिहाल, यहाँ बस्न पाइन्न भन्छ,’
प्रहरीले तत्काल माइतिघर छाड्ने आदेश दिएपछि उनीहरु अलमलमा परे । उनीहरुले त्यो रातको समय दिन अनुरोध गरे । बिहान उज्यालो हुँदासम्म केही उपाय निस्कन्छ कि भनेर, तर प्रहरीले मानेन । त्यही राति उनीहरुलाई प्रहरीले उठाएर भ्यानमा हाल्यो ।
प्रहरीले उनीहरूको ब्यानर र पर्चा च्यातिदिएको भन्दै विनोदले दुःख व्यक्त गरे । भन्छन्, ‘रातको समयमा प्रहरीको त्यो व्यवहार देखेर दुख लाग्यो ।’हामी राज्यद्रोही, देशद्रोही थिएनौ तर पनि प्रहरीले लछार पछार गर्दै दमनमाथि प्रतिदमन गरेको उनले सुनाए ।
न्याय नपाउदाँसम्म सडकबाट नउठ्ने भनेपछि प्रहरीले लछार पछार गर्दै उनीहरूलाई भ्यानमा हाल्यो । अन्य प्रदर्शनकारी दिनभर बसेपनि साह परिवार २४ घण्टे धर्नामा छन् । हाम्रो आफ्नो कहाँ जाने ठेगान नभएपछि प्रहरीले शान्तिवाटिकामा ल्याएर छाडिदिएको उनले बताए ।
त्यसैगरी मनिषाकी आमा निर्मलाले न्याय नपाउँदासम्म सडकबाट नउठ्ने अडान दोहोर्याइन् । ‘दिउँसो बसेपनि राति यो ठाउँ बस्न लायक छैन । फेरि यहाँ माइतिघरमा जस्तो प्रहरी पनि खटाइदिएको छैन । सुरक्षित ठाउँ चाहियो भनेर हामीले कसलाई कहाँ भन्ने हो ? तिमीहरु सुरक्षित छौ कि छैनौ भनेर कसले सोध्न आउँछ र हामीलाई ? उनी प्रश्न गर्छिन् ।
यस्तो असुरक्षित ठाउँमा कसैले आक्रमण गर्यो भने को जिम्मेवार हुन्छ, भन्ने उनीभित्र भय छ । ‘हामी आफ्नो छोरीको न्यायको लागि धर्ना बसेका छौ । दाइजोको नाममा अब मधेसमा अन्य छोरीले मर्नु नपरोस् भनेर एउटा सामाजिक न्यायको लागि धर्ना बसेका छौ ।’ यो ६ महिनामा प्रहरी १० पटकभन्दा बढी ज्यादती गरेको उनले सुनाइन् ।
६ महिना बितिसक्यो, हाम्रो आन्दोलन सरकारले निषेध गर्दैमा रोकिने आन्दोलन होइन । हामी नागरिकले आफ्नो अधिकारको लागि धर्ना बस्न पनि नपाउने ? यदि उनीहरूले तोकेको ठाउँ निषेध गरेपछि, अर्को विकल्प दिनुपर्देन ? विकल्पको रुपमा यस्तो असुरक्षित ठाउँमा ल्याएर छोडिदिन मिल्छ ? उनीहरूको प्रश्न छ ।
अब राज्यसँग हामीलाई मार्ने बाहेक उपाय छैन । हामी न्याय नलिई सडकबाट नउठ्ने भएपछि यस्तो असुरक्षित र दुर्गन्धित क्षेत्रमा ल्याएर राखिदियो । यो देश चीन जस्तो क्रूर हो भने हामीमाथि डोजर चलाइदिए हुन्छ । लोकतन्त्र भएको देश हो भने हामी पीडितलाई राज्यले गर्ने व्यवहार यस्तो हुन सक्छ ? भनेर पीडितले प्रश्न गरेका छन् । हाम्रो शान्ति सुरक्षाको लागि खुलामञ्चमा लगेर राखिदिएको भए के जान्थ्यो भन्ने उनीहरूको राय थियो ।
खुलामञ्च किन ‘बन्दमञ्च’ भयो ?
हरेक राजनीतिक परिवर्तनको उद्घोष स्थल खुल्लामञ्चलाई नागरिक अभिव्यक्तिको थलो बनाउन प्रमुख राजनीतिक दलहरूकै निष्क्रियता बढ्दो छ । पार्टीहरुमा टुट, फुट र गुट हावी हुन थालेपछि सार्वजनिक बहसले कम प्राथमिकता पाउने गरेको छ । प्रमुख दलका महाधिवेशन नै व्यावसायिक पार्टी प्यालेसमा सम्पन्न हुन थालेका छन् ।
खुल्लामञ्चको व्यवस्थापकीय जिम्मेवारी लिएको काठमाडौं महानगर पनि खुल्लामञ्च खुलाउने हतारोमा छैन । खुल्लामञ्च कहिले खुल्छ ? भन्ने खबरहबको प्रश्नमा महानगरका प्रवक्ता नविन मानन्धर खुलामञ्च खुल्ला रहनुपर्ने महानगरको इच्छा भएको बताउँछन ।विभिन्न प्राकृतिक विपत्ति र निर्माण समयमा खुलामञ्च प्रयोग भएकाले त्यसको पुनर्निर्माण गर्ने भनेर हाललाई बन्द गरिएको मानन्धरको भनाइ छ ।
मानन्धरले डिपिआर तयार भैसकेको र अब छिटै टेण्डर खुलाउने बताए । उनी भन्छन्, ‘खुलामञ्च नै त्यो स्थान थियो, जहाँ नेताको भाषणदेखि नागरिकको पीरमर्का सुन्न र सुनाउन सकिन्छ । खुलामञ्च हरेक राजनीतिक परिवर्तनको साक्षी हो ।’ यसलाई जतिसक्दो छिटो निर्माण गरिने उनले बताए ।
खुलामञ्च कहिले स्थानीय निकायले व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको थियो । कहिले ठेकेदारले आफ्नै ढंगले प्रयोग गरेको थियो । खुलामञ्च बचाउन ‘अकुपाई टुँडिखेलका अभियन्ता आन्दोलनमै उत्रिएका थिए ।
नारायणहिटी दरबारदेखि करिब एक किलोमिटर दूरीमा रहेको छ खुलामञ्च । खुलामञ्चबाटै दरबारको हैकमलाई नेताहरू चुनौती दिन्थे । जहाँबाट कयौं नेता जन्मिए । खुलामञ्चबाटै उदाएका नेताहरू आज सिंहदरबारमा रम्दै रमाउँदै छन् ।तर आज त्यही खुलामञ्च तिनै नेताको मौन समर्थनका कारण बन्द भएको छ ।