तस्वीर- एपी

अन्तर्राष्ट्रिय

संसदमा विवाद भएपछि कुवेतको सरकार ढल्यो

By खबरहब

January 24, 2023

काठमाडौँ- विपक्षी नेतृत्वसँग संसदमा विवाद भएपछि कुवेतमा सरकार ढलेको छ । संसदमा विवाद उत्पन्न भएपछि कुवेतको मन्त्रिपरिषद्ले राजीनामा दिएको हो ।

प्रधानमन्त्री शेख अहमद नवाफ अल अहमद अल सबाहले युवराज शेख मेसल अल अहमद अल जाबेर अल सबाहसमक्ष राजीनामा पेश गरेको सरकारी समाचार संस्था कुनाले जनाएको छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ । यद्यपि विवादबारे विस्तृत विवरण भने दिइएको छैन । संसद्को बैठक आजका निम्ति बोलाइएको थियो ।

गत अक्टोबरमा सपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । निर्वाचनपछि विपक्षीको नेतृत्वमा संसद् गठन भएको थियो ।