राजनीति

कर्णालीको विकासलाई ध्यान दिइयोस् : ज्ञानेन्द्र शाही

By खबरहब

January 24, 2023

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने खाँचो औँल्याए । कर्णालीको विकास राज्यको प्राथमिकतामा छैन भन्ने उदाहरण कर्णाली राजमार्ग हो भन्दै उनले उक्त राजमार्गलाई वैकल्पिक राजमार्गका रुपमा अघि बढाउन बजेट व्यवस्थापन गर्न माग गरे । 

सांसद शाहीले जुम्लीको विकाससँग जोडिएको जुम्ला विमानस्थलको स्तरोन्नति गरिनुपर्ने खाँचो औँल्याए । उनले मुलुकमा विधिको शासन कायम गर्न सबै गम्भीर हुनुपर्नेमा समेत जोड दिए। बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले संसद्को प्रभावकारिता र गरिमा बढाउन नवनिर्वाचित सभामुख र उपसभामुखले सक्रिय भूमिका खेल्नुहुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘संसद्को गरिमा, प्रतिष्ठा र प्रभावकारिता बढाउन र संसदप्रतिको आकर्षण बढाउन सभामुख र उपसभामुखको महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले सदनलाई आवाजविहीनको आवाज व्यक्त हुने वातावरण बनाइनुपर्नेमा जोड दिए।