समाचार

दिक्तेल-मानेभञ्ज्याङमा नियमित बस सेवा सञ्चालन 

By खबरहब

February 24, 2023

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमित बस सेवा सञ्चालन भएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिको बसमार्फत बिहीबारबाट उक्त सडकखण्डमा नियमित सेवा सञ्चालन गरिएको हो । 

दिक्तेलबाट ३९ किलोमिटर लामो उक्त सडकखण्डमा नियमित बस सञ्चालन गर्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, यातायात व्यवसायीलगायतका टोली मानेभञ्ज्याङ पुगेका थिए । नियमित बस सेवा सञ्चालनका लागि परीक्षण गर्न गएको टोलीलाई साकेला गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सीका राईलगायत स्थानीय बासिन्दाले स्वागत गरेका थिए । 

नियमित बस सञ्चालनका लागि गरिएको परीक्षण सफल भएपछि गाउँपालिका प्रमुख राईको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त सडकखण्डमा चल्ने बसको भाडादरसमेत कायम गरेको छ । कायम गरेको भाडादरअन्तर्गत साकेला गाउँपालिका-२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म पाँच सय, नैनेपाटी, स्कुल एरिया, मबु, यातिम्छाचोकबाट दिक्तेलसम्म रु चार सय ५० र यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म रु चार सय भाडादर कायम गरिएको छ ।

यस्तै लामदुवाली-दिक्तेल तीन सय ७०, चम्पा–दिक्तेल तीन सय ५०, चिउरीडाँडा-दिक्तेल तीन सय, दुम्ली-दिक्तेल दुई सय ६०, रुवाबु-दिक्तेल रु दुई सय ४०, च्यानडाँडा-दिक्तेल एक सय ८० र मोहोरिया-दिक्तेल एक सय ३० भाडादर कायम गरिएको छ । उक्त रुटमा नियमितरूपमा बस सञ्चालनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भूगोलमा सधैँभरि यातायात सञ्चालन हुने गरी मर्मतसम्भार र विस्तार गर्ने सम्झौता भएको छ ।

दिक्तेलबाट रतन्छासम्म समान ढुवानी गर्नका लागि एक जना व्यक्तिको १० केजीसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकेजी चारका दरले भाडा लाग्ने निर्णय भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए। उक्त स्थानसम्म चामल तथा दाल ढुवानी गर्दा प्रतिबोरा एक सय लिने निर्णय गरिएको छ । 

गाउँपालिकाको कार्यालय मानेभञ्ज्याङमा भएको बैठकलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख राईले नागरिकको सहजताका लागि स्थानीय सरकार सकारात्मक भएको र जस्तोसुकै समस्यालाई पनि सहज तवरबाट समाधान गर्नेतर्फ संवेदनशील भएको बताएका छन् । बैठकमा खोटाङ यातायातका वरिष्ठ उपाध्यक्ष फडिन्द्रकुमार राई, महासचिव हिङमाङ, कोषाध्यक्ष गोविन्दबहादुर कटवाललगायत यातायात व्यवसायी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता थियो । 

कार्यसम्पादन सूचक मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ । जिल्लाका १० स्थानीय तहमध्ये उक्त दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ६६.७८ अंक ल्याएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनमा उल्लेख छ । 

आयोगका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५९.८४ अंक, ऐसेलुखर्क गाउँपालिकाले ५७.७८ अंक, हलेसी तुवाचुङ नगरपालिकाले ५५.३० अंक, खोटेहाङ गाउँपालिकाले ५१.७० अंक प्राप्त गरेको छ । यस्तै साकेला गाउँपालिकाले ५१.१३ अंक, रावाबेँसी गाउँपालिकाले ४९.०६ अंक, केपिलासगढी गाउँपालिकले ४७.५९ अंक र बराहपोखरी गाउँपालिकाले ४६.४८ अंक पाएको आयोगको प्रतिवेदनमा उल्लेख छ । 

जन्तेढुङ्गा गाउँपालिकाले जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा कम अंक ल्याएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन सूचक मूल्यांकन प्रतिवेदनअनुसार जन्तेढुङ्गा गाउँपालिकाले सबैभन्दा कम ४४.०८ अंकमात्र ल्याएको हो । 

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार असार १० गतेभित्र राजस्व र व्यायको अनुमान गाउँसभा-नगरसभामा गरे-नगरेको, असार मसान्तभित्र राजस्व र व्यायको अनुमान पारित गरे-नगरेको, आर्थिक वर्ष २०७७-७८ मा कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली प्रयोग गरे-नगरेको, आवधिक योजना तर्जुमा गरे÷नगरेकोलगायतका सूचकको आधारमा कार्यसम्पादन सूचक मूल्याङ्कन गरिएको जनाइएको छ । 

घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करवापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिकरूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे-नगरेको, आर्थिक वर्ष २०८०-८१ को आयव्याय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस सान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेन-गरेको, आर्थिक वर्ष २०७९-८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको, चारपटक गर्भजाँच गर्ने महिलाको सङ्ख्यालगायतका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिएको आयोगले जनाएको छ ।