राजनीति

राहदानी लिन सहज बनाइयोस् ः सांसद खतिवडा

By खबरहब

February 24, 2023

काठमाडौँ– सर्वसाधारणका लागि राहदानी लिन अझै समस्या रहेको विषय संसदमा उठेको छ । सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न नसकेको बताए ।

‘पासपोर्ट लिनका लागि एक महिना पर्खनुपरेको छ । यो सरकार गठन भए लगत्तै प्रधानमन्त्री, मन्त्रीहरूले राहदानी विभागमै गएर त्यसबारे चासो देखाउनुभएको थियो । आज पनि लाइन त्यत्तिकै लामो छ । पासपोर्ट लिनका लागि रातभरि लाइन बस्नुपर्ने स्थिति कहिलेसम्म हो ?’ उनले भने ।

पासपोर्ट लिनका लागि महँगो शुल्क रहेको पनि उनले बताए । ‘करिब  १४ सय रुपैयाँ लागतमा बनेको पासपोर्ट लिनका लागि २० हजारसम्म तिर्नुपर्ने अवस्था छ । एउटा गरिबका लागि राज्यले नै यस्तो महँगो शुल्क लिन कति जायज हो ?’ उनले भने ।

दूरदराजका मानिसले अहिले पासपोर्ट लिनका लागि एक लाख रुपैयाँ सम्म खर्च गर्नुपर्ने अवस्था रहेकाले त्यसमा सहजीकरण गरिनुपर्ने सांसद खतिवडाको भनाइ छ । रातो पासपोर्ट लिनेका लागि पनि शुल्क तिराउनुपर्ने उनले संसद्मा धारणा राखे ।