तस्वीर- जिम्बाब्वेमेल

अन्तर्राष्ट्रिय

जिम्बाब्वेमा सञ्चालित चिनियाँ कारखानाले कामदारमाथि श्रम शोषण गरेको आरोप

By खबरहब

February 24, 2023

काठमाडौँ- अफ्रिकी मुलुक जिम्बाब्वेमा चिनियाँ कम्पनीद्वारा सञ्चालित स्टिल र फलामको कारखानामा कामदारमाथि श्रम शोषण हुँदै आएको पाइएको छ ।

राजधानी हरारेबाट झण्डै दुई सय किलोमिटर दक्षिणमा रहेको म्भुमा क्षेत्रमा १ अर्ब अमेरिकी डलरको लगानीमा स्थापित कारखानामा श्रमिकमाथि शोषण हुने गरेको आरोप लागेको हो । उक्त कारखाना चिनियाँ स्वमित्वको डिनसन आइरन एण्ड स्टिल कम्पनी डिस्कोले सञ्चालन गर्दै आएको छ ।

सो कारखानामा कार्यरत कामदारहरुले कारखानामा अमानवीय कार्य वातावरण रहेको, कम्पनीले श्रमिकलाई जबरजस्ती काममा लगाउने गरेको र शोषण गर्ने गरेको आरोप लगाएका छन् । जिम्बाब्वेको ट्रेड युनियन जिम्बाब्वे कंग्रेस अफ ट्रेडले पनि सो कारखानाका मजजुर प्रति ऐक्यबद्धता जनाएको छ ।

ट्रेड युनियनका अनुसार उक्त कारखानाले कुनै सुरक्षाको बन्दोबस्तीबिना कामदारलाई काममा लगाउने गरेको छ । यसबाहेक उक्त कारखानामा शौचालय र भोजनगृहको पनि व्यवस्था गरिएको छैन । त्यस्तै, नियमित बिदा, आफन्तलाई भेट्ने समय र अन्य गतिविधिका लागि पनि कामदारलाई कारखानाले समय नदिने गरेको बताइएको छ ।

चिनियाँ कम्पनीमाथि जिम्बाब्वे र अफ्रिकी महादेशका अन्य मुलुकमा कामदारको शोषण, पर्यावरणीय क्षति, अपारदर्शी लगानीजस्ता आरोप लाग्दै आएको छ ।

यता डिस्कोको माउ कम्पनी सिङसानले यस्तो आरोपको खण्डन गरेको छ ।