औषधी/उपचार

गर्मी मौसममा डेंगुबाट बच्ने उपाय

By खबरहब

April 24, 2023

गर्मी मौसम सुरुभएसँगै लाखुट्टे लगाययतका पराजीवी देखिन थालिसकेका छन्। गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजारलगायत संक्रमिक रोग देखिन सक्छन्। पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक हो डेंगु। गर्मी सुरु भएसँगै विभिन्न रोगबाट बच्नुपर्ने देखिन्छ। डेंगु हामीलाई नलागोस् भनेर के गर्ने ? गर्मी मौसममा लाग्ने रोगबाट बच्ने उपाय के कस्ता छन् ? यी र यस्तै विषयमा आधारित रहेर सरुवा रोग विशेषज्ञ डा.चन्दन ठाकुरसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

डेंगु संक्रमण भनेको के हो ? डेंगु संक्रमण भनेको एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने रोग हो। डेंगु ज्वरो पाँचदेखि सात दिनसम्म रहनसक्छ। डेंगु लागेमा मानिसको रक्तकोष घट्न गएर रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। जसले गर्दा मानिस कमजोर हुने र सिकिस्त हुने हुन्छन्। यो भाइरसको रोग भएको कारणले भाइरस मार्ने कुनै औषधि छैन। त्यसैले यसको रोकथाम भनेको नै लामखुट्टेको नियन्त्रण गर्ने हो। साथै पुरा बाहुला भएको वा पुरै शरीर छोप्ने खालका कपडा लगाउने र झुलको प्रयोग नै यसबाट बच्ने उपाय हुन्।

डेंगु कसरी एकबाट अर्कोमा सर्छ ? यो भाइरस एक अर्कोमा सामान्य रुपमा हात मिलाउँदैमा, अंगालो मार्दैमा र सँगै खाना खाँदैमा सर्दैन। डेंगु संक्रमित भएको व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले सामान्य व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ। कुनै व्यक्तिलाई बाघे लामखुट्टेले टोके लगत्तै अर्को व्यक्तिलाई टोक्यो भने मात्र सर्छ।

आफूलाई डेंगु भएको कसरी थाहा पाउने ? लगातार ज्वरो आउने र ज्वरो पनि १०४ सम्म जाने हुन्छ। तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आउछ। डेंगु ज्वरो आउँदा शरीरको तापक्रम बढ्छ। साथै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने हुन्छ। यस्तो भयो भनेर दुखाई कम गर्ने वा लट्याउने खालका औषधिको सेवन गरेर बस्नु हुँदैन। तुरुन्त अस्पतालमा जानुपर्छ।

डेंगुका लक्षण के के हुन् ? यसको संक्रमणको सुरूका दिनमा एक्कासी उच्च ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने लगायतका लक्षणहरू देखा पर्छ। डेंगु संक्रमण हुँदा रगतमा पानीको मात्रा कम भएर रक्तचाप कम हुन्छ। जसकारण डेंगु बिरामी सिकिस्त भएर बेहोस हुनेसम्म हुन सक्छन्। यसको समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था रहँदैन। त्यसैले समयमा नै सचेत रहनु वा यसको रोकथाम र नियन्त्रणका लागि अब सबै पक्ष लाग्नु जरुरी छ। डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट टाढा रहनुपर्छ।

डेंगू संक्रमण नहोस् भनेर के कुरामा ध्यान दिने ? डेंगू संक्रमण नहुने भनेको पहिला लामखुट्टेको टोकाइबाट बच्नु हो। कुनै भाँडोमा वा पानी जमेको ठाउँमा लामखुट्टेको अण्डा देखियो भने घाममा सुकाएर राम्ररी त्यो भाडो घोप्टाएर राख्ने, घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, आफ्नो घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन वा फोहोर नराख्ने, सरसफाइमा ध्यान दिने, लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने। सकेसम्म सबै झ्याल ढोकामा जाली राख्नु उचित हुन्छ। सबै मिलेर आफ्नो घर वरीपरी मात्र होइन समुदाय, समाजलाई पनि सफा राख्नुपर्छ। घरमा कोही डेंगु संक्रमित छन् भने दिनरात झुलभित्र राख्नुपर्छ।

डेंगू संक्रमण भइहाले के के कुरामा ध्यान दिने त ? बिरामी आफैलाई धेरै गाह्रो भएर फ्लेक्सनहरु किनेर खानु हुँदैन। यो डेंगुको ज्वरो सामान्यतया पाँचदेखि सात दिनमा आफै सन्चो भएर जान्छ। यसमा ज्वरो आउँदा प्यारासिटामोल मात्र खाँदा हुन्छ। आफ्नै घरमा फलफूल, रोटी साग तरकारी खाने, झोलिलो खाना खाने, अरु कुनै पनि धेरै औषधि खानु हुँदैन। आफूलाई धेरै नै गाह्रो भयो भने अस्पताल गएर रगतको परीक्षण गर्नुपर्छ।