फाइल फोटो

राजनीति

विपद् जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन 

By खबरहब

April 24, 2023

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंमा गृह मन्त्रालयले आयोजना गरेको विपद् जोखिम व्यवस्थापन नीतिगत व्यवस्थादेखि अभ्याससम्म विषयक राष्ट्रिय कार्यशालामा श्रेष्ठले संविधानले विपद् व्यवस्थापनलाई सबै तहको साझा जिम्मेवारीमा राखेको भन्दै विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रित नगरी  दीर्घकालीन व्यवस्थापनमा जोड दिन सुझाब दिए । श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । पुननिर्माण र पुनस्थापनामा प्राधिकरणसँगै शहरी विकास मन्त्रालय, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय , कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा विज्ञहरूले प्राकृतिक जोखिमका हिसाबले नेपाल उच्च जोखिममा रहेकाले पूर्व तयारीका लागि सबै सरोकारवालाहरूले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।