ब्रेकिङ स्टोरी

तनहुँ १ मा गोविन्द भट्टराईले स्वीकारे हार

By खबरहब

April 24, 2023

तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेको गोविन्द भट्टराईले हार स्वीकारेका छन् । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेसँग दश हजार भन्दा धेरै मतले पछाडि परेपछि भट्टराईले मतगणना नसकिँदै हार स्वीकार गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत नेता भट्टराई चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्दै सानो खुशी पनि दिलाएको महसुस भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘ मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ ।’

उनले ठूला आदर्शभन्दा नागरिकका व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो राजनीतिक यात्राका क्रममा जनतासँगै रहेर काम गरेको उल्लेख गरेका छन् ।