देश/प्रदेश

स्थानीय सरकारकाे एक वर्ष : विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्तासम्म

By खबरहब

May 24, 2023

तम्घास– गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णय मार्फत नागरिकलाई राहत दिने प्रयास गरिरहेका छन् । रेसुङ्गा नगरपालिकामा प्रमुख र उप-प्रमुखले पदभार ग्रहण गर्दाको दिन जन्म र मृत्यु दर्ता प्रमाण-पत्र घर-घरमै पुर्‍याउने र विपन्न नागरिकको आँखाको निःशुल्क शल्यक्रिया गर्ने लगायतका निर्णय गरेका थिए  ।

अहिले सो निर्णय कार्यान्वयनमा आएको छ  । विपन्न नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । यसका साथै नगरपालिकाले तम्घास बजारको रि–पिचको काम सुरु गरेको छ । रेसुङ्गा विमानस्थल सुचारु गरेको छ । माध्यामिक शिक्षा परीक्षामा ३.२ जिपिए भन्दा बढी अंक ल्याउने विद्यार्थीहरूको लागि कक्षा ११ र १२ मा नगरपालिकाभित्रैका विद्यालयमा अध्ययन गर्दा मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । भने रेसुङ्गा बहुमुखी क्याम्पसलाई एक करोड उपलब्ध गराएको प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दाकै दिन प्रत्येक घरको बीमा गर्ने, गरिब, द्वन्द्वपीडित तथा विपन्न निश्चित विद्यार्थीको अध्ययन खर्च गाउँपालिकाले व्यहोर्ने एवम् अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म गाउँपालिकाले पढाउने निर्णय गरेका थिए । अहिले घरको बीमा गर्ने काम सञ्चालन भइरहेको छ । अभिभावक गुमाएका बालबालिकालाई पाञ्चायन माध्यमिक विद्यालयमा अध्यापनको व्यवस्था मिलाइएको पालिका अध्यक्ष भूपाल पोखरेलले बताए । त्यसका साथै पालिकाले धुर्कोट कोतमा भौतिक संरचना निर्माण, पदमार्ग निर्माण, सेउघा–सिमाघाट–बर्बोट सडकलाई पक्की गर्नेमा पहलकदमी लगायतका काम पनि गरेको छ ।

इस्मा गाउँपालिकाले कक्षा १२ सम्म मासिक शुल्क नलिने गरी निर्णय गरेको छ । यसभन्दा पहिले कक्षा १० सम्मका परीक्षा शुल्क छुट गरिएको अहिलेका जनप्रतिनिधिले कक्षा ११ र १२ को मासिक शुल्कसमेत छुट गरेका हुन् । 

शिक्षिका सुत्केरी भएमा वा एक हप्तासम्म शिक्षकको उपस्थिति नरहेमा स्वयम् सेवक शिक्षकमार्फत शिक्षकको परिपूर्ति गर्ने व्यवस्था पालिकाले मिलाएको छ । नागरिकको सहजताका लागि पालिकाको कार्यालयमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ भने सबै नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको अध्यक्ष भगतसिंह खड्काले बताए । इस्माले ५५ वर्षभन्दा माथिका एक पुरुषलाई भत्ता दिएको छ ।

चन्द्रकोट गाउँपालिकाले एक वर्षको अवधिमा पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको छ । विपन्न ९८ परिवारलाई निःशुल्क मिटर बक्स उपलब्ध गराएको छ । चन्द्रकोट उज्यालो पालिका घोषणा गर्ने अन्तिम तयारीमा रहेको छ भने शान्तिपुर स्वास्थ्य चौकीमा मेडिकल अफिसरस्तरको डाक्टरमार्फत सेवा प्रवाह भइरहेको प्रवक्ता घनश्याम खरेलले बताए ।

विपन्न नागरिकलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा गराउने कार्यक्रमअन्तरगत हालसम्म तीन सयभन्दा बढीले सेवा लिएको गाउँपालिकाले जनाएको छ । पालिकामै सुत्केरी हुन नसक्ने महिलाका लागि पनि पालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ भने एउटा निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ ।