देश/प्रदेश

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

By खबरहब

May 24, 2023

दिनभर आज नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर, शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग, रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, सहिद स्मारक ए डिभिजन लिगमा एपीएफद्वारा संकटा पराजितलगायतका समाचारले प्रमुख स्थान पाए ।

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्दा दर्ता गराएको हो ।

नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेका उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसुर र र संगठित कसुरमा मुद्दा दर्ता गराएको हो ।

प्रहरीले सोमबार बुझाएको अनुसन्धानको फाइल अध्ययन गरेपछि बुधबार अदालतमा लगिएको हो ।

प्रहरीले ५७ दिन अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो । पक्राउ परेका १६ जना र अन्य १४ जनालाई प्रतिवादी बनाएर फाइल बुझाइएको छ ।

अभियोगपत्रमा सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गर्दै सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

स्थानीय सरकारकाे एक वर्ष : विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्तासम्म

गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णय मार्फत नागरिकलाई राहत दिने प्रयास गरिरहेका छन् । रेसुङ्गा नगरपालिकामा प्रमुख र उप-प्रमुखले पदभार ग्रहण गर्दाको दिन जन्म र मृत्यु दर्ता प्रमाण-पत्र घर-घरमै पुर्‍याउने र विपन्न नागरिकको आँखाको निःशुल्क शल्यक्रिया गर्ने लगायतका निर्णय गरेका थिए ।

अहिले सो निर्णय कार्यान्वयनमा आएको छ । विपन्न नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । यसका साथै नगरपालिकाले तम्घास बजारको रि–पिचको काम सुरु गरेको छ । रेसुङ्गा विमानस्थल सुचारु गरेको छ । माध्यामिक शिक्षा परीक्षामा ३.२ जिपिए भन्दा बढी अंक ल्याउने विद्यार्थीहरूको लागि कक्षा ११ र १२ मा नगरपालिकाभित्रैका विद्यालयमा अध्ययन गर्दा मासिक चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । भने रेसुङ्गा बहुमुखी क्याम्पसलाई एक करोड उपलब्ध गराएको प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

धुर्कोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दाकै दिन प्रत्येक घरको बीमा गर्ने, गरिब, द्वन्द्वपीडित तथा विपन्न निश्चित विद्यार्थीको अध्ययन खर्च गाउँपालिकाले व्यहोर्ने एवम् अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म गाउँपालिकाले पढाउने निर्णय गरेका थिए । अहिले घरको बीमा गर्ने काम सञ्चालन भइरहेको छ । अभिभावक गुमाएका बालबालिकालाई पाञ्चायन माध्यमिक विद्यालयमा अध्यापनको व्यवस्था मिलाइएको पालिका अध्यक्ष भूपाल पोखरेलले बताए । त्यसका साथै पालिकाले धुर्कोट कोतमा भौतिक संरचना निर्माण, पदमार्ग निर्माण, सेउघा–सिमाघाट–बर्बोट सडकलाई पक्की गर्नेमा पहलकदमी लगायतका काम पनि गरेको छ ।

इस्मा गाउँपालिकाले कक्षा १२ सम्म मासिक शुल्क नलिने गरी निर्णय गरेको छ । यसभन्दा पहिले कक्षा १० सम्मका परीक्षा शुल्क छुट गरिएको अहिलेका जनप्रतिनिधिले कक्षा ११ र १२ को मासिक शुल्कसमेत छुट गरेका हुन् ।

शिक्षिका सुत्केरी भएमा वा एक हप्तासम्म शिक्षकको उपस्थिति नरहेमा स्वयम् सेवक शिक्षकमार्फत शिक्षकको परिपूर्ति गर्ने व्यवस्था पालिकाले मिलाएको छ । नागरिकको सहजताका लागि पालिकाको कार्यालयमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ भने सबै नागरिकको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको अध्यक्ष भगतसिंह खड्काले बताए । इस्माले ५५ वर्षभन्दा माथिका एक पुरुषलाई भत्ता दिएको छ ।

चन्द्रकोट गाउँपालिकाले एक वर्षको अवधिमा पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको छ । विपन्न ९८ परिवारलाई निःशुल्क मिटर बक्स उपलब्ध गराएको छ । चन्द्रकोट उज्यालो पालिका घोषणा गर्ने अन्तिम तयारीमा रहेको छ भने शान्तिपुर स्वास्थ्य चौकीमा मेडिकल अफिसरस्तरको डाक्टरमार्फत सेवा प्रवाह भइरहेको प्रवक्ता घनश्याम खरेलले बताए ।

विपन्न नागरिकलाई ५० प्रतिशत छुटमा स्वास्थ्य बीमा गराउने कार्यक्रमअन्तरगत हालसम्म तीन सयभन्दा बढीले सेवा लिएको गाउँपालिकाले जनाएको छ । पालिकामै सुत्केरी हुन नसक्ने महिलाका लागि पनि पालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ भने एउटा निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा

कांग्रेस सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए पनि उनीहरूमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको परीक्षा भएको भन्दै उनले सरकारले नाम मुछिएका जोसुकैमाथि अनुसन्धान गर्नुपर्ने दोहोर्‍याए ।

शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले प्रहरी अनुसन्धानप्रति आशंका व्यक्त गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

प्रकरणमा पक्राउ परेकाले नाम लिएका व्यक्तिउपर छानबिन नगरेको भन्दै आपत्ति जनाएका लामिछानेले दोषीलाई उम्काउन खोजिएको आशंका पनि व्यक्त गरेका छन्।

यसर्थ नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाले माग गरेपछि सभामुख देवराज घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

नवनियुक्त वन मन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वन मन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ ।

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई कायम नरहेको नागरिकताको प्रतिलिपिबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो ।

यसअघि सफल दिएको रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता प्रक्रिया गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश पछि बुधबार रिट दर्ता भएको हो । सो रिटमाथिको सुनुवाइका लागि १७ जेठलाई पेसी तोकिएको छ ।

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरी कायम नरहेको नागरिकताको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएर निर्वाचित भएको प्रतिनिधिसभा सदस्य बन्न लामिछाने अयोग्य रहेकाले बदरको माग रिट निवेदनमा गरिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा आईजीपी कुँवरको संलग्नता छैन : आईजीपीको सचिवालय

नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको संलग्नता नरहेको आईजीपीको सचिवालयले जनाएको छ ।

बुधबार सचिवालयका प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले प्रेस विज्ञप्ति जारी गर्दै कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइँदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी आइजीपीलाई विवादमा तान्नु निन्दनीय रहेको जनाएको छ ।

‘काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन प्रमुख (हाल प्रहरी महानिरीक्षक) वसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको मुद्दाका आरोपितहरूसँग सम्पर्क रहेको, पूर्वगृहमन्त्रीलाई जोगाउन प्रयास गरेको लगायतका काम गरेको भन्दै समाचार सम्प्रेषण गरेको पाइयो’ विज्ञप्तिमा लेखिएको छ, ‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ ।’

नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाइ आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि दुःखद् रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

मानव विकास सूचकांकमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई केन्द्रमा राखेर नै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतको प्रतिमण्डलसँगको भेटमा उनले ती प्रदेशको समग्र विकासमा आगामी आवको बजेटमा प्राथमिकतामा राखिने बताए ।

सो अवसरमा प्रतिनिधि मण्डलले प्रदेशको समग्र आर्थिक अवस्था, विकास निर्माणलगायतका कामका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै बजेट विनियोजनमा विशेष प्राथमिकता दिन आग्रह गरेको थियो । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमलाई नै केन्द्रित गरेर नीति तथा कार्यक्रममा पनि केही विशेष व्यवस्था गरेको र बजेटमासमेत प्राथमिकतामा राखेको जानकारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

चालु आवको समानीकरण अनुदानको रकम कटौती भएका विषयमासमेत मुख्यमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । मुख्यमन्त्री शाह नेतृत्व प्रतिनिधिमण्डलले मंगलबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतलगायतसँग भेटवार्ता गरेको थियो ।

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० खर्ब आवश्यक

आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि करिब ५० खर्ब बराबरको बजेट आवश्यक पर्ने धारणा सांसद प्रेमबहादुर आलेले राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद आलेले मुलुक गम्भीर आर्थिक संकटमा रहेको बेला आएको नीति तथा कार्यक्रममा केही अत्यन्तै राम्रा र महात्वाकांक्षी कार्यक्रम समेटिएको भए पनि त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

‘केही अत्यन्तै राम्रा र महत्वाकांक्षी कार्यक्रम आएका छन् । यसलाई कार्यान्वयनमा जाँदा जटिलता नदेखियोस् र कर्मकाण्डीजस्तो नबनोस् । अहिलेको नीति तथा कार्यक्रममा समेटिएका सबै योजना तथा कार्यक्रम कार्यान्वयनका लागि ५० खर्ब बराबरको बजेट आवश्यक पर्छ’, उनले भने ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार विगतका वर्षको नीति तथा कार्यक्रमको करिब ३७ प्रतिशत बराबर मात्रै कार्यान्वयन भएको र उहाँले संसद्मा उल्लेख गरे । त्यस्तै, सरकारको बजेट खर्च सन्तोषजनक नदेखिएकाले कार्यान्वयन पाटोमा कडाइका साथ प्रस्तुत हुनुपर्ने सांसद आलेको भनाइ छ ।

सरकारले सडक यातायात र हवाई यातायातलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । धनगढी-दीपायल-चैनपुर-उरै भञ्ज्याङ सडकखण्डलाई राष्ट्रिय गौरवको र रूपान्तरणकारी आयोजनाका रुपमा विकास गरिनुपर्ने उनको भनाइ छ । कैलाश मानसरोवर जोड्ने सबैभन्दा छोटो बाटोका रुपमा यसलाई त्रिदेशीय सडकका रुपमा विकास गर्न सकिने उनले बताए ।

राजस्व प्रशासनलाई थप चुस्त बनाउनुपर्ने, पुरानो राजस्व बक्यौता असुली गर्नुपर्ने र चुहावट नियन्त्रणमा निर्मम भएर प्रस्तुत हुनुपर्ने सुझाव उनले दिए । केही निश्चित व्यवसायीलाई मात्रै आर्थिक लाभ पुग्ने तर त्यसले सरकारको कोषमा समस्या देखिने गरी कुनै पनि कर छुटका निर्णय गर्न नहुने आलेको भनाइ छ ।

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट आह्वान गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट मंगलबार सिफारिस भई आएकाले सभाको दोस्रो अधिवेशन आह्वान भएको जनाइएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनका १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले संविधानको धार १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम १ बमोजिम सूचना जारी गरिएको उल्लेख गरेको छ ।

सगरमाथा आरोहण गर्दा ज्यान गुमाएका दुई विदेशी नागरिकको शव फेला

सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका दुई जनाको शव फेला परेको छ ।

जेठ ५ गते सगरमाथा आरोहणको क्रममा मृत्यु भएका मलेसियाका ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते मृत्यु भएका मालडवाका ४६ भिक्टर व्रिन्चको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

फेला परेका शवमध्ये मलेसियन नागरिक याकूबको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको छ । मालडवाका नागरिक व्रिन्चको शव उद्धार गर्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफद्वारा संकटा पराजित

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २५ औं मिनेटमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा आवासले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा संकटाका लागि मनिस डाँगीले गोल गरेका थिए । जितसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । संकटाको २१ खेलमा २३ अंक रहेको छ ।

त्यस्तै बुधबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीलाई न्युरोड टिम एनआरटीले १–० गोल अन्तरले पराजित गरेको छ । एनआरटीको जितमा कृतिस रत्न छुन्जुले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ । आर्मीको २१ खेलमा २९ अंक रहेको छ ।