फाइल फोटो

समाचार

मुस्लिम नेता रजाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

By खबरहब

July 24, 2023

काठमाडौँ – नेपाली कांग्रेसले पार्टी धनुषाका महाधिवेशन प्रतिनिधि एवं नेपाल हज समितिका पूर्वअध्यक्ष मोहम्मद शोएब रजाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी नेपाल मुस्लिम सङ्घका संस्थापक केन्द्रीय सदस्यसमेत रहनुभएका रजाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

विसं २००७ असोज २ गते जन्मनुभएका स्वर्गीय रजाले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । चार दशकभन्दा लामो समय शिक्षण पेशामा आबद्ध हुनुभएका स्व रजाको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको कांग्रेसले बताएको छ ।

रजाको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । “नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व रजाले निर्वाह गर्नुभएको सक्रिय भूमिका स्मरणीय छ”, सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले दिवङ्गत आत्माको चिरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।