फाइल तस्वीर

देश/प्रदेश

अनलाइनमार्फत ‘बस टिकट’

By खबरहब

August 24, 2023

काठमाडौँ- आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो ।

यसअघि विभिन्न अनलाइन माध्याममार्फत टिकट खरिद गर्दै आएका पर्यटकको सुविधाका लागि टिवानले ‘टुरिष्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरेको टिवानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

“आन्तरिक तथा बाह्य पर्यटक नझुक्किउन र उनीहरुलाई टिकट खरिदमा सहजता होस् भन्ने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएका हौँ”, उनले भने, “यस एप्समार्फत आफू जान चाहेको बसको टिकट, सिट नं र स्थानको सहजै टिकट लिन सकिनेछ ।”

हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर तथा पोखरादेखि लुम्बिनी र सौराहामा झण्डै एक सय पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका टिवानका उपाध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए ।

टिवानले आगामी असोजदेखि पोखरादेखि मुक्तिनाथसम्म पर्यटकीय बस सञ्चालन गर्ने तयारी थालेको उनले बताए । उनका अनुसार हाल काठमाडौँमा पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टेस्थित सडकबाट सञ्चालन हुँदै आएका छन् ।