क्रिकेट

एसीसी यू–१९ प्रिमियर कप फाइनल : नेपालद्वारा यूएईसामु २ सय ८१ रनको लक्ष्य

By खबरहब

October 24, 2023

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सामु २ सय ८१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनायो ।

नेपालका देव खनालले सर्वाधिक एक सय रनको शतकीय इनिङ खेले । यस्तै, उत्तम थापाले ५७ र अर्जुन कुमालले ५५ रनको अर्धशतक पूरा गरे । यसैगरी, दिपक प्रसाद डुम्रेले २८, दीपेश कँडेलले १० रन बनाए ।

यूएईका हरित सेठ्ठीले सर्वाधिक ५ विकेट लिए । यस्तै, आयान अफजल खानले दुई तथा अमर बादामीले १ विकेट लिए ।

नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लुइस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लुइस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन यूएईलाई हराउँदै उपाधि जित्न चाहन्छ ।

नेपालले समूह चरणमा इरान, बहराइन र साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो भने यूएईले चीन, ओमान र कतारलाई हराएको थियो ।