ब्रेकिङ स्टोरी

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान 

By खबरहब

November 24, 2023

काठमाडौं– संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । न्यायापरिषदको मंसिर ५ को निर्णयअनुसार सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरिएको थियो ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू विरुद्ध उजुरी दिन सर्वसाधारणका लागि आह्वान गरेको हो ।

उजुरी आह्वान गरिएका प्रस्तावित न्यायाधीशहरूमा शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल छन् ।

समितिका सभापति पशुपति शम्शेर जबराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए ।

त्यस्तै सुनुवाई समितिको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि उजुरी आह्वान गर्ने निर्णय गरेको जबराले जानकारी दिए । सिफारिस भएका व्यक्तिहरू संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान छ ।