तस्वीर- गेटी इमेज

भारत / चीन / सार्क

उत्तरी चीनमा अज्ञात निमोनियाको संक्रमण फैलिँदै, सावधानी अपनाउन डब्लूएचओको आग्रह

By खबरहब

November 24, 2023

बेइजिङ- उत्तरी चीनमा अज्ञात निमोनियाको संक्रमण फैलिएको छ । उत्तरी चीनमा फैलिएको अज्ञात निमोनियाबाट बढिजसो केटाकेटी संक्रमित छन् । उत्तरी सहर लियोओनिङ र ८ सय किलोमिटर टाढा रहेको राजधानी बेइजिङमा समेत यस संक्रमण देखिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पत्रकार सम्मेलन गर्दै गत नोभेम्बर १३ मा नयाँ संक्रमणबारे जानकारी गराएको थियो । नयाँ संक्रमणबाट कति जना प्रभावित भएका छन् भन्ने यकिन विवरण प्राप्त नभएपनि बेइजिङ र आसपासका अस्पतालहरुमा बिरामीको चाप बढेको पाइएको छ ।

यस संक्रमणबाट केटाकेटीहरु धेरै प्रभावित हुने भएकाले विद्यालयमा विद्यार्थीको उपस्थिती पनि घट्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

चिनियाँ स्वास्थ्य आयोगले भने कोरोना भाइरसको महामारीका क्रममा लागू गरिएको कडाई खुकुलो बनाइएका कारण पछिल्लो संक्रमण बढेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले भने चीनमा फैलिएको निमोनिया कुनै नौलो वा असामान्य किसिमको नभएको भन्दै चीनसँग यसबारे थप तथ्याङ्क माग गरेको जनाएको छ । यद्यपि यस संक्रमणबाट जोगिन र सावधानी अपनाउन डब्लूएचओले आग्रह गरेको छ ।