फाइल तस्वीर

ब्रेकिङ स्टोरी

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको पेसी न्यायाधीश शिशिर ढकालको इजलासमा

By खबरहब

December 24, 2023

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको पेसी काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको छ ।

आजको पेसी सूचीमा उक्त मुद्दा पहिलो नम्बरमै परेको छ।

नाबालिग बलात्कारको कसुरमा २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने बताइएको छ ।

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ। मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ।

यसअघि सो मुद्दा पेसीमा चढेर पनि लामो समयदेखि पटक पटक सर्दै आएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसके पनि सुनुवाइ भने सर्दै आएको थियो ।

सर्वोच्च अदालतले यसअघि गत फागुनमा चाँडो फैसला गर्न आदेश दिएको भए पनि अहिलेसम्म फैसला हुन सकेको छैन ।

गत मंसिर २४ गते न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेसी चढे पनि सन्दीप पक्षका वकिलले निवेदनमार्फत स्थगित गराएका थिए ।