राजनीति

आत्मदाह गरेका आचार्यको परिवारलाई भेटेर गृहमन्त्रीले मागे क्षमा

By खबरहब

January 25, 2023

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् । 

नयाँबानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई लगिएको किर्तिपुरस्थित अस्पतालमा पुगेर गृहमन्त्री लामिछानेले मृतक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् । 

उनले मृतक प्रेमप्रसादले उठाएका विषयमाथि छानबिन आश्वासन पनि दिएका छन् । मृतकको आफन्तलाई भेट्नुअघि बुधबार बिहान सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरूको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका थिए । 

आफूहरू जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसक्नुमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेले भनेका थिए ।