फाइल फोटो

राजनीति

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

By खबरहब

February 25, 2023

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगालेको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिएका हुन् ।   

नेम्वाङको उम्मेदवारी दर्तापछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सफल राजनीतिज्ञ भएको बताए।

अध्यक्ष ओलीले भने, ‘नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छौँ । हामीले दलीय स्वार्थ हैन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको जित र जनताको हितका लागि तथा संविधानको सफल कार्यान्वयन,  प्रणालीको रक्षा, सफल प्रयोग र प्रवर्द्धनका लागि उम्मेदवारी उठाएका हौँ ।’