खेलकुद

युएईमाथि नामिबियाको सहज जित

By खबरहब

February 25, 2023

काठमाडौं– आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले आफ्नो अन्तिम खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ ।

जितसँगै नामिबिया ३६ खेलमा ३९ अंकका साथ लिग-२ समाप्त गरेको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २८.२ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गरेको हो । 

नामिबियाको जितमा माइकल भान लिंगेनले ५३ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । नामिबिया कै बेन सिंकोगोले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । टांगेनी लुंगामेनी र जेरार्ड इरास्मसले २–२ विकेट लिए । लो ह्यान्डरे लरेन्सले ५९ बलमा ६ चौकासहित ४७ रन बनाउन सफल भए ।

दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । युएईका कप्तान सिपी रिजवानले १ सय ४० बलमा २ चौकासहित सर्वाधिक ६० रन बनाए । 

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ ।