फाइल तस्वीर

समाचार

बागमती प्रदेश सभाको बैठक : विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान

By खबरहब

February 25, 2023

काठमाडौँ – बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकले विधेयक व्यवस्थापन विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको छ । बैठकले १५ सदस्यीय विशेष समिति गठन गर्न स्वीकृति प्रदान गरेको हो ।

उक्त विशेष समितिमा प्रदेशसभाका सदस्यहरू आशा लामा, उद्धव थापा, कुन्दनराज काफ्ले, छिरिङदोर्जे लामा, जयराम थापा, डा दिनेशचन्द्र देवकोटा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, राधिका तामाङ, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर, शैलेन्द्रमान बज्राचार्य, मधुसुधन पौडेल, सृजना सैजू र सुरेन्द्रराज गोरसाईं छन् ।

यसैगरी सोही बैठकमा आजै साँझ विशेष समयमा ११ जना प्रदेशसभाका सदस्यले प्रदेश सरकारको विभिन्न घटनाक्रमलाई लिएर आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

उनीहरूले प्रदेशको सिन्धुली र मकवानपुरमा केही दिनदेखि जङ्गली जनावर (हात्ती र बाघ)को आक्रमणले तीन नागरिकको मृत्यु भएकामा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्ति दिलाउनुपर्ने माग गरे ।