देश/प्रदेश

नयाँ वर्ष २०८० सालको अवसरमा भक्तपुरमा महोत्सवको आयोजना हुने

By खबरहब

March 25, 2023

काठमाडौँ- नयाँ वर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक दीपक थापाले मध्यपुर ब्वाइज ब्याण्ड र भक्तपुर जिल्ला खेलकुद विकास समिति भक्तपुरको सहयोगमा आगामी चैत्र २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने जानकारी दिए ।

आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको जनाए ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको आयोजना गरिने जनाइएको छ ।

महोत्सवमा २०० भन्दा बढी स्टल रहने जनाइएको छ । महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्री, खाद्यान्नका सामाग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ताहरुको बिक्री वितरणका स्टलहरु रहने छन् ।