तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

‘अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ’

By खबरहब

July 25, 2023

कराँची- पाकिस्तानको कराँचीमा रहेको अफगान वाणिज्यदूतले पाकिस्तानमा २५ लाख अफगान आप्रवासीको बसोबास रहेको जनाएका छन् ।

कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले हाल पाकिस्तानमा २५ लाख अफगान आप्रवासी रहेको र तीमध्ये केबल ३ लाखसँग मात्रै आवश्यक वैध कागजात नभएको बताएका हुन् ।

अफगान समाचार संस्था टोलोन्युजले टखारीलाई उद्धृत गर्दै जनाएअनुसार अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ ।

पछिल्लो समय अफगान आप्रवासीलाई लिएर पाकिस्तानले सुरक्षा चिन्ता जाहेर गर्दै आएको छ । हालै संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानको स्थायी नियोगले आइन्दा अफगान आप्रवासीलाई आफ्नो मुलुकमा बसोबास गर्न दिन नसकिने जनाएको थियो ।

आप्रवासनसम्बन्धी विज्ञहरुले अफगानिस्तानबाट उद्गम हुने आप्रवासीको लहर रोक्न अफगानिस्तानमा शासन गरिरहेको तालिबान सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।