ब्रेकिङ स्टोरी

राप्रपा नेपाल हिन्दु राष्ट्रसहित राजसंस्थाको पक्षमा

By खबरहब

August 25, 2023

काठमाडौँ– राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनाको एजेन्डामा फर्किएको छ । हिजो र आज दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमका वक्ताहरूले पार्टीले अब राजसंस्था पुनर्स्थापनाको एजेण्डालाई जोडदार अगाडि बढाउने बताए ।

करिब डेढ वर्षअघि कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनको एजेन्डा छाडेको घोषणा गरेको थियो । तर, दुई दिन चलेको पार्टीको केन्द्रीय समिति बैठकले भने नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने र राजसंस्था पुनर्स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष कमल थापाले कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मूलभूत विचार हुने उल्लेख गरेका छन् । 

राप्रपा नेपालले गणतन्त्र र धर्मनिरपेक्षता खारेजी र हिन्दु राष्ट्र कायम, राजसंस्था पुनर्स्थापनाका लागि बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जाने भएको छ ।