देश/प्रदेश

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

By खबरहब

September 25, 2023

जनकपुरधाम– राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन् । यसका साथै उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरेका छन् ।

राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरेका थिए । यसअघि नेपाली सेनाको जहाजमार्फत जनकपुर पुगेका राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सोही सभाहलमा राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने तयारी छ । राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिए ।

राष्ट्रपति पौडेल दिउँसो ३ बजे काठमाडौँ फर्किने छन् ।